इच्छाकामना अस्पतालमा डिजिटल एक्स–रे मेसिन

इच्छाकामना, ८ भदौ ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अस्पताल संचालनको लागि तयारी तीव्र पारिएको छ । गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै अस्थायी रुपमा भए पनि अस्पताल संचालन गर्ने निर्णय भए बमोजिम अस्पताल संचालनको काम तीव्र पारिएको हो ।
गाउँपालिकामा बुधबार नयाँ डिजिटल एक्स–रे मेसिन आइपुगेको छ । गाउँपालिकालाई अस्पताल संचालनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब साढे ३६ लाख मूल्यको नयाँ डिजिटल एक्स–रे मेसिन पठाएको हो ।

अस्पताल संचालनको लागि आवश्यक सामग्री जुटाउने भन्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता नरेन्द्र कन्दङ्वा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटा, लेखापाल पवन खरेललगायतको टोली स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनी भेट्न पुगेको थियो ।

भेटमा मन्त्री खापुङ र निर्देशक मरासिनीले गाउँपालिकामा इच्छाकामना अस्पताल स्थापना गरी संचालन गर्न तत्काल आवश्यक सामग्री पठाउने वचन टोलीलाई दिएका थिए । सोहि बमोजिम गाउँपालिकालाई मन्त्रालयमार्फत डिजिटल एक्स–रे मेसिन आइपुगेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार अस्पतालका लागि आवश्यक बेड, मनिटर, औषधी लगायतका अन्य सामग्रीहरु पनि मन्त्रालयले उपलब्ध गराएकोले आउने क्रममा रहेको छ ।

अस्पतालका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु आएपछि गाउँपालिकाले भदौ मसान्तभित्रमा चिकित्सकको नियुक्ति गरी आवश्यक प्रक्रिया पुर्‍याई १५ बेडको इच्छाकामना अस्पताल संचालन गर्नेछ । अस्पतालका लागि तत्काल २ जना चिकित्सकको व्यवस्था गरिने अध्यक्ष गुरुङले बताए ।
सुरुवातमा हाल गाउँपालिका प्राङ्गणमा रहेको दारेचोक स्वास्थ्य चौकीको भवन र सँगै निर्माण गरिएको संरचनामा अस्थायी रुपमा अस्पतालको सेवा संचालन गरिने छ भने अस्पतालको छुट्टै नयाँ भवन निर्माण भएपछि स्थायी रुपमा सेवा संचालन गरिने छ ।

अध्यक्ष गुरुङले चुनावमा गरेको प्रतिबद्धता अनुरुप तत्काल अस्पताल संचालनको लागि काम गरेको बताए । “मैले नागरिकको पहिलो आवश्यकतालाई मध्यनजर गरेर चुनावमा जाँदा गरेको वाचा पूरा गर्न लागिपरेको हुँ । अब केही दिनमै नागरिकले इच्छाकामना अस्पतालबाट सहज र सरलरुपमा स्वास्थ्य सेवा पाउने छन्” उनले भने ।

इच्छाकामना अस्पताल निर्माण भएमा इच्छाकामनासहित गोर्खाको गण्डकी र शहीद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका जनतालाई समेत सेवा दिनेछ । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्रमा पर्ने भएकोले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने देखिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट