किन हेलिइन् नारायणीमा ऋचा ?

भरतपुर, ८ भदौ ।
नारायणी नदीको पुलबाट मंगलबार अपराह्न नदीमा हाम फालेर बेपत्ता भएकी महिला बुधबार साँझसम्म पनि फेला परेकी छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तनी माइती भएकी २६ वर्षीया ऋचा उप्रेतीले मंगलबार दिउँसो पौने ३ बजेतिर नदीमा हाम फालेकी थिइन् ।
नदीबाट हाम फालेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घटनास्थलमा खटिएको थियो । टोलीले उनको खोजी कार्य जारी राखेको छ ।

ऋचाको तीन वर्ष अगाडि झापा विर्तामोडका मिलन संग्रौलासँग प्रेम विवाह भएको थियो । संग्रौला लेखक हुन् । उनका ‘च्याट गर्ल’ र ‘पर्पला’ उपन्यास प्रकाशित छन् । विवाहपछि ऋचा परिवारसँगै झापामा बस्दै आएकी थिइन् ।
गत असार १७ गते ऋचाले झापाको बि एण्ड सि मेडिकल कलेजमा छोरीलाई जन्म दिइन् । छोरी जन्मिएको एक महिना पूरा भएपछि ऋचा माइत आएकी थिइन् । ऋचा र छोरीलाई लिएर मिलन आफैं चितवन आएका थिए । ऋचालाई छोरीसहित माइतीमा छाडेर मिलन झापा फर्किएका थिए ।

घटना के हो ?
मंगलबार बिहान खानपिन गरेपछि ऋचा मूल घर जान्छु भनेर निस्किएकी थिइन् । नजिकै रहेको मूल घरमा उनका हजुरबुबा र हजुरआमा बसोबास गर्छन् । ऋचा अल्लि बेरसम्म पनि घर नआएपछि उनलाई बोलाउन परिवारका सदस्य मूल घर पुगेका थिए तर उनी त्यहाँ थिइनन् । त्यसपछि उनको खोजी थालियो । फोनमा पनि उनी सम्पर्कमा आइनन् । ऋचा नारायणी नदीमा हेलिएको खबर उनका माइतीले एकैपटक साँझ मात्र थाहा पाए ।

ऋचा बेपत्ता भएको खबर झापामा रहेका मिलनले फोनबाट थाहा पाए । नदीमा हराएकी पत्नीको अवस्था बुझ्न उनी बुवा र काकाहरूसहित रात्रिबस चढेर बुधबार बिहानै चितवन आए । मिलनका अनुसार ऋचाले उनलाई मंगलबार दिउँसो फोनमा मेसेज पठाएकी थिइन् ।
“एक्लै हुँदा अत्यार लागेर मेसेज गरेकी थिइन् । नियमित मेसेज र फोन कल हुन्थ्यो”, निराश मुद्रामा मिलनले भने, “सम्बन्धमा नराम्रो केही थिएन । ऋचाले यस्तो कदम किन चाल्न पुगिन् ? केही सोच्नै सकिरहेको छैन ।” माइती आएको १६ दिनमै ऋचाले उक्त कदम किन चाल्न पुगिन् भनी अनुमान गर्न नसकिएको उनका माइतीको भनाइ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट