बौदीकाली, ३१ साउन ।
बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जनता आधारभूत विद्यालय नरममा शिक्षकहरूसँग अन्तरक्रिया गरेका छन् । विद्यालयमा पुगेर अध्यक्ष ओझाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी लिएका हुन् । खस्किँदो शैक्षिक स्थितिका कारण पहाडी भेगबाट बसाइँसराइ तिव्र हुँदै गइरहेको र निकट भविष्यमा नै बौदिकालीको पहाडी भू-भाग खाली हुने दु:खद स्थिति आउने भन्दै ओझाले सानो कक्षाबाट नै शैक्षिक सुधार गर्नुपर्ने कुरामा जोड दिए ।
आधारभूत विद्यालय बालबालिकाको भविष्यको आधार रहेकाले सम्पूर्ण शिक्षक तथा अभिभावक बाबुनानीको शिक्षामा गम्भिर भइदिन आग्रह गरे । विद्यालय शिक्षामा सुधार ल्याउन प्रधानाध्यापकबाट प्रत्येक शिक्षकलाई टार्गेट बेसमा जिम्मेवारी दिनुपर्ने कुरामा प्रधानाध्यापकको ध्यानाकर्षण गराए ।
हालको कमजोर शैक्षिक स्थिति आउनुमा लकडाउनको प्रत्यक्ष असर परेको बताउँदै प्रधानाध्यापक नेत्रबहादुर गाहाले विद्यार्थीहरू दुई वर्षसम्म विद्यालय बाहिर हुँदा शैक्षिक क्रियाकलापमा असर परेको बताए । अहिले अवस्था सामान्य बन्दै गइरहेको अवस्थामा विद्यालयको शैक्षिक स्थिति सुधारोन्मुख दिशामा अघि बढेको बताउँदै उनले पालिकाद्वारा अभिभावक शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षकले विद्यार्थीलाई पढाउने तर अभिभावकबाट आवश्यक रेखदेख नगरिदिँदा शैक्षिक उपलब्धि हासिल गर्न समस्या परेको बताए । साथै अभिभावकहरूमा शिक्षामा लगानी कम गर्ने तर आम्दानी छिटो खोज्ने प्रवृत्तिको कारणले सोचेजस्तो नतिजा निकाल्न नसकिएको पनि उनले बताए ।





