देवचुली, ३१ साउन ।
देवचुलीका सुकुम्बासीहरुलाई जग्गा धनी पुर्जा ( लालपुर्जा ) देवचुली नगरपालिकाबाट नै बाँड्न नगरप्रमुख हरिप्रसाद न्यौपानेले भूमि आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । देवचुली नगरपालिकाद्वारा भूमि आयोग नवलपुरका पदाधिकारीहरुलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सो आग्रह गरेका हुन् ।
सुकुम्बासीहरुको आन्दोलन भएको नगरपालिका साथै नगर कार्यपालिकाको सुकुम्बासी समस्या समाधानको लागि पहिलो प्राथमिकता भएकाले यहाँको समस्या समाधानका लागि भूमि आयोग नवलपुरसँग सहकार्य गर्न नगरपालिका तयार रहेको न्यौपानेले बताए । सुकुम्बासी तथा अव्यवस्थित बसाईको समस्यालाई चाँडै नै आवश्यक प्रकृया पुर्याई लालपुर्जा दिनका लागि सहजीकरण गर्न समेत उनले आग्रह गरेका थिए । नगरले भूमि सम्बन्धि काम गर्नका लागि कर्मचारीहरुको व्यवस्थापन गरि तथ्यांकहरुको काम गरिरहेको र आवश्यक पर्ने सबै काममा नगरपालिका सदैव तयार रहेको न्यौपानेले बताए ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलको प्रमुख आतिथ्य रहेको थियो । नगरपालिकाका नगर प्रमुख न्यौपानेले नवनियुक्त आयोगका अध्यक्ष तथा पदाधिकारीहरुलाई खादा ओढाई स्वागत सहित बधाई ज्ञापन गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गिरबहादुर थापाले आफ्नो वडामा ५५० भन्दा बढी घरबासीहरु सुकुम्बासी भएको त्यसमा पनि ३०० घरबासीहरुलाई जंगल क्षेत्र पर्ने भएकाले स्थानीयहरुमा नयाँ भूमी आयोग गठन भएपछी जग्गा धनी पुर्जाको आस पलाएको बताए । सुकुम्बासीहरुका लागि लालपुर्जा वितरण प्रक्रिया चाँडै नै थाल्न उनले अनुरोध गरे ।
पूर्व आयोगबाट नै हाम्रा आफ्नो वडाका स्थानीयको पुर्जा बनिसकेको तर परासीमा नै थन्किएकोले आवश्यक प्रक्रिया पूरा गरि लालपुर्जा वितरणका लागि पहल गर्न देवचुली वडा नम्बर १५ का अध्यक्ष सुरेन्द्र रानाभाटले आयोगलाई अनुरोध गरेका थिए ।
पुराना आयोगबाट कुनै काम नभएकोले नयाँ आयोगप्रति जनता निकै नै उत्साहित भएकोले जनताका आसलाई निराशामा नबदल्न र प्रक्रिया पुर्याएर सुकुम्बासी समस्या समाधान गर्नका लागि देवचुली ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटाले आग्रह गरे ।
पूर्व आयोगबाट वितरण भएको पुर्जा रोक्का भएकाले समस्या भएको साथै खोला किनारका जग्गालाई वन क्षेत्रमा राखिएकोले आयोगले वन कार्यालयसँग समन्वय गरिदिनका लागि देवचुली ९ का अध्यक्ष बलिराम सापकोटाले अनुरोध गरे ।
त्यस्तै देवचुली वडा नम्बर २ का अध्यक्ष शरदप्रसाद घिमिरे , वडा नम्बर १३ का अध्यक्ष एकदेव पौडेलले आफ्नो वडाको समस्या आयोगका अध्यक्ष समक्ष राखेका थिए ।
नवगठित आयोगका अध्यक्ष तारापति खरेलले सरकारले आयोगलाई भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तोक्ने, स्थानीय तहबाट लगत संकलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान, लगत संकलन र प्रमाणीकरणको काम स्थानीयतमार्फत् गर्ने, सम्बन्धित मालपोत कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नापजाँच गरी नक्सा श्रेस्ता तयार गर्ने गराउने अधिकार दिएको बताए ।
स्थानीय तहबाट प्राप्त तथ्यांकको विश्लेषण गर्न आवश्यक प्रणालीको विकास गरी सोही प्रणालीको आधारमा अव्यवस्थित बसोबासीको जग्गाको वर्गाीकरण गर्ने, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराए बापत् ऐन बमाजिमको दस्तुर लिने, हदबन्दीभन्दा बढी भई रोक्का रहेका जग्गा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराउने खरेलले बताए । स्थानीय तहसँग समन्वय गरेर काम गर्ने साथै चाँडै नै सुकुम्बासीहरुको समस्या समाधान गर्न आफुहरु लागि पर्ने समेत उनले बताए ।
स्वागत तथा अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, भूमि आयोगका सदस्य सुष्मा खनाल , रामबहादुर बलोन, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, कार्यपालिका सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले गरेका थिए ।





