यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउँदै किशोरी

कावासोती, ३१ साउन ।
कावासोती नगरपालिकामा किशोरी अभियन्ताहरुले यौन तथा प्रजनन अधिकारको सचेतना फैलाउने अभियान सुरु गरेका छन् । समाजमा यौन र प्रजनन स्वास्थ्यको बारेमा खासै छलफल र बहस नहुँदा विभिन्न घटना सार्वजनिक भैरहेको छ । कावासोतीका ३५ जना किशोरी अभियन्ताहरु विद्यालय र समुदाय स्तरमा अभियान सुरु गरी खुल्ला छलफलको पहल गर्न थालेका छन् ।

कावासोती नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा संचालित किशोरी सशक्तिकरण कार्यक्रमका किशोरीहरुले यौन तथा प्रजनन अधिकार सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमपश्चात् यो अभियान सुरु गरेका हुन् । यो अभियान अन्तर्गत किशोरकिशोरीहरु र उनीहरुका अभिभावकलाई सँगै राखी किशोर अवस्था, महिनावारीमा सरसफाई, यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न विषयमा संयुक्त छलफल र अन्तरक्रिया गर्ने गर्दछन् ।

मंगलबार कावासोती नगरपालिका वडा नम्बर ६ को जनता माध्यमिक विद्यालयमा विद्यालयका किशोर र किशोरीहरुलाई अभिमुखीकरण सम्पन्न गरेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताए । समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा खुला रुपमा छलफल नगर्ने प्रचलन रहेको अवस्थामा यसको न्यूनीकरणको लागि बालबालिका, युवा र समुदायका अगुवाहरुसहितको अन्तरपुस्तालाई लक्षित गरी स्वयं किशोरीहरुद्वारा नै यो अभियान सुरु गरिएको उनले बताए ।

कार्यक्रममा आफ्नै उमेर समूहका किशोरीहरुले महिनावारी सरसफाई र यौन तथा प्रजननका बारेमा जानकारी दिँदा मज्जाले आफ्नो पहिलो महिनावारी र आफूले नजानेको विषयहरु सोध्न पाएकोमा निकै खुसी लागेको कार्यक्रममा सहभागी किशोरीहरुले बताए । विद्यालयमा यो पढाई हुँदा लाज लाग्ने र आफूलाई लागेको प्रश्न पनि सोध्न डर लाग्ने गरेको तर आफ्नै उमेरका दाइ, दिदीहरुसँग सोध्न र जान्न सजिलो भएको किशोरीको भनाइ थियो ।

समाजमा यस्ता विषयमा खासै बहस र छलफल नहुँदा नकारात्मकतातर्फ पनि किशोरकिशोरीको ध्यान जान सक्ने भएकोले उमेर अनुसारका विषय खुलेर गर्न सक्ने वातावरणको आवश्यकता रहेको युवा अधिकारकर्मी पवन भुर्तेलले बताए ।
जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा कावासोतीका १७ वटा वडामा ३५ जना १३ देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई विभिन्न विषयको तालिम प्रदान गरी उनीहरुमार्फत समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रम कावासोती नगरपालिका वडा नं ६, रोट्र्‍याक्ट क्लब अफ कावासोती, रोट्र्‍याक्ट क्लब अफ कावासोती सिटि, नगर स्तरीय युवा सञ्जाल, बिष्णुनगर बाल क्लब र विद्यालयको संयुक्त आयोजनामा संचालन भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययनरत ३० जना किशोरकिशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा किशोरी अभियन्ताहरु सबनम सुनार, युतिका तिवारी, बिमाया नेपाली र पवन भुर्तेलले सहजीकरण र छलफल गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट