देवघाट,३१ साउन ।
नारायणीलाई नारायणी किन भनेको होला ? नौवटा गण्डकी मिलेपछि देवघाटभन्दा तल बग्ने नदीलाई नारायणी भनेको हामीले सुन्दै आएका छौं । तर स्वामि रंगराज आचार्यको परिभाषा फरक छ । ‘शास्त्रीय प्रमाण अनुसार जुन दिन गण्डकीको गर्भमा भगवान नारायण शालिग्रामका रुपमा बस्न थाल्नु भयो त्यही दिनबाट भक्तहरुले यीनलाई नारायणीका नामले पुज्न थाल्नु भयो’ स्वामि रंगराजले सुनाए।
देवघाटमा बस्ने उनी शालिग्रामका बारेमा अध्ययन गर्छन । मंगलबार देपघाटधामको श्री जगदगुरु रामानुज धर्मशाला र त्रिस्वरुप (कूर्म–वराह–गणेशनारायण) शालाग्राम मन्दिरमा आयोजना भएको पुस्तक विमोचन कार्यक्रममा उनले यी कुरा राखेका हुन्। उनले अरु नदी असार साउनमा रज्वश्वशाला हुने र त्यो बेला स्नान गर्न नहुने धार्मिक मान्यता रहेको सुनाए ।
‘त्यो बेला नदी रजस्वाला हुन्छिन । त्यसैले शास्त्रको मान्यता अनुसार स्नान गर्न निषेध गरिएको छ । तर कृष्ण गण्डकी कहिल्यै रजस्वला नहुने हुँदा सधै स्नान गर्न सकिन्छ । कृष्णगण्डकीको गर्भमा निरन्तर नारायण भगवान शालिग्रामका रुपमा रहनु भएको छ । त्यसैले कृष्ण गण्डकी कहिल्यै रजश्वला हुँदिनन्’ स्वामि रंगराजले भने । ‘गोदास्मृति पुष्पार्चना’ नामक पुस्तकको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले विमोचन गरेका थिए ।
जगदगुरु रामानुज धर्मशालाका गोपाल रिजाल (शालाग्राम बाबा)की श्रीमती गोदादेवीजीको स्मृतिमा पुस्तक प्रकाशित भएको हो । गोदा देवीको निधन विस २०७३ सालको साउन ३१ मा भएको थियो । उनको स्वार्गरोहण भएको ४५ औं दिनमा गोपाल रिजाल स्नान गर्न जाने क्रममा देवघाट कालीगण्डकीमा बिशाल शालिग्राम भेटिएपछि मन्दिर र आश्रम बनाएर राखेका छन् ।





