भरतपुर, २८ साउन
भरतपुर महानगरपालिका वडा नम्बर १० ले वडाभित्र सरसफाइ गर्ने अभियान आरम्भ गरेकाे छ ।
वडाका विभिन्न टाेलमा बृहत् सरसफाइ गर्ने गरी अभियान थालिएकाे वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले जानकारी दिए ।
अभियानकाे पहिलाे दिन महाकालेश्वर शिवालय मन्दिर परिसर तथा शिवालय मार्गमा सरसफाइ गरिएकाे छ । जुनियर प्रहरी अधिकृत शिक्षालय (प्रहरी तालिम केन्द्र) भरतपुरका प्रशिक्षणरत प्रहरी, शिवालय टाेलवासी, विभिन्न सामाजिक अभियन्ता तथा वडा समिति पदाधिकारीकाे सहभागितामा मन्दिर परिसरकाे फाेहाेर सफाइ गर्नुका साथै शिवालय मार्ग दायाँबायाँ रहेका झाडी फाँडिएका छन् ।
कार्यक्रममा जुनियर प्रहरी अधिकृत शिक्षालय (प्रहरी तालिम केन्द्र) प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) सन्दीप भण्डारी, शिवालय टाेल विकास संस्था अध्यक्ष पार्वती खनाल, आमा समूहकी अध्यक्ष अम्बिका पाैडेल, वडा सदस्य सूर्यवदना हमाल र रेशम थापा ऋषिलगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।
‘फाेहाेरकाे उचित व्यवस्थापन गराैँ, वातावरण सफा राखाैँ’ नाराका साथ आरम्भ गरिएकाे अभियान निरन्तर अघि बढाइने वडाध्यक्ष खनालले बताए ।





