कावासोती, २८ साउन ।
शुक्रबार अगष्ट १२ तारिखमा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ ।
यसै सन्दर्भमा कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समूहका प्रतिनिधिलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा अभिमुखीकरण गर्दै यो दिवस मनाएका छन् ।
कावासोतीमा जागृति बाल तथा युवा सरोकार नेपालद्धारा संचालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुले शुक्रबार कावासोती नगरपालिका वडा नम्बर १५ मा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा अभिमुखीकरण र छलफलको आयोजना गरेका छन् ।
समुदायस्तरमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा खुला रुपमा छलफल गर्ने प्रचलन छैन । यस्तो अवस्थामा यसको न्युनिकरणको लागि बालबालिका, युवा र समुदायका अगुवाहरु सहितको अन्तरपुस्तालाई लक्षित गरी स्वयं किशोरीहरुद्धारा नै सो अभियान सुरु गरिएको किशोरी शसक्तिकरण कार्यक्रमकी सहजकर्ता राधादेवी बोटेले बताइन् । `आज पनि बच्चा जन्माउने विषयमा समय र जन्मान्तरमा महिलाहरुको समेत अधिकार रहेको स्थानीय स्तरमा रहेकालाई थाहा छैन, त्यसकारण हामी आजका किशोरीहरु र भोलिका आमाहरुलाई नेतृत्वमा ल्याई यो विषयमा खुल्ला रुपमा बहस र पैरवीको लागि पहल गरेका हौँ´, बोटेले निर्धक्क भएर बताइन् । असुरक्षित गर्भधारण र गर्भपतनका विषयमा किशोरीहरुलाई सचेत बनाउने गरि समुदायस्तरीय अभियान संचालनका लागि सबै पक्ष लाग्नुपर्ने बोटेको सुझाव थियो ।
सुरुसुरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा महिलाहरुको समेत समान अधिकार रहेको र यसबारेमा खुला बहस र छलफल गर्नुपर्दछ भन्दा सबैले हाँसेर नसुन्ने प्रचलन रहेको कावासोती-९ कि किशोरी अभियन्ता मान्सु न्यौपानेले बताइन्। विभिन्न उपनाम र बिम्बहरु प्रयोग गरेर जिस्काउने गरेका समुदायका साथीहरुले आजकल केही समस्याहरु आउँदा आफूलाई भन्ने गरेको उनले बताइन् ।
कार्यक्रममा आफ्नै उमेर समूहका किशोरीहरुले महिनावारी सरसफाई र यौन तथा प्रजननका बारेमा जानकारी दिँदा मज्जाले आफ्नो पहिलो महिनावारी र आफूले नजानेको विषयहरु सोध्न पाएकोमा निकै खुसी लागेको कार्यक्रममा सहभागी किशोरी शुभेच्छा पाण्डेले बताइन् । महिनावारी प्राकृतिक प्रकृया रहेकोले यसको बारेमा खुल्ला बहस र सचेतना आवश्यकता रहेको पनि पाण्डेले बताइन् । महिनावारीका विषयमा आफ्नो उमेरका किशोरीहरु सजिलै बोल्न नसक्ने गरेको र आफूलाई पनि आफ्नै उमेरका साथीहरुले नै सो बारेमा जानकारी गराउँदा आफ्नो समस्या भन्न सहज भएको उनले बताइन् । `प्रजनन स्वास्थ्यको सचेतना विद्यालय तहमा सहज रुपमा सिकाउन आवश्यक छ ´उनले भनिन् ।
महिनावारी, यौन र बच्चा जन्माउने विषय त गफ नै गर्न नहुने जस्तो गर्नेहरु अहिले परिवर्तन भएको देख्दा र आफूलाई पनि सोध्दा समाज परिवर्तनशील हुँदै रहेको कावासोती- १५ निवासी अर्की किशोरी अभियन्ता सविना पाण्डेले बताइन् । हामीहरु समुदायका किशोरकिशोरी सचेतना गर्ने अभियानमा रहेकाले सरोकारवाला सबैको सहयोग आवश्यकता पर्ने पाण्डेले बताइन् ।
जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा कावासोतीका १७ वटा वडामा ३५ जना १३ देखि १९ उमेर समूहका किशोरीहरुलाई विभिन्न विषयको तालिमहरु प्रदान गरी उनीहरुको मार्फतबाट समुदाय र विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
कार्यक्रममा समुदायस्तरका किशोर किशोरीहरु र आमा समूहका ३५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा किशोरी अभियन्ताहरु मान्सु न्यौपाने, सविना पाण्डे, खिमा मुसहर र ओमकला बोटेले सहजीकरण र छलफल गरेका थिए ।





