भरतपुर, २६ साउन ।
आयात प्रतिस्थापनसँगै महिला उद्यमशीलता निर्माण गर्ने उदेश्यसहित लायन्स क्लब अफ चितवन मालिकाको आयोजनामा महिला समूहलाई फूलको विरुवा हस्तान्तरण गरिएको छ । नजिकिँदै गरेका चाडवाडहरूमा अत्यधिक मात्रामा प्रयोग हुने सयपत्री फूल आयातलाई प्रतिस्थापन गर्न सहयोग पुगोस् र महिला उद्यमशीलता पनि विकास हुँदै जाने विश्वासका साथ भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडको परिसरमा १२ जना महिला दिदीबहिनीहरुद्वारा सयपत्री फूलको खेती को लागि १ हजार उन्नत जातको कलकत्ते टेनिस बल भेराइटीको सयपत्रीको विरुवा हस्तान्तरण गरेको क्लबका अध्यक्ष लायन श्री बेदप्रसाद सापकोटाले बताए ।
माटो संरक्षण र जैविक विविधताको संरक्षणसँगै आयात प्रतिस्थापनमा लायन्स क्लब अफ चितवन मालिकाले यस्तो खालको कार्यक्रमहरू निरन्तर संचालन गरेर लायन्स क्लबको क्षेत्रमा अनुकरणीय कार्य गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि एवं जोन चियर पर्सन लायन डा. गंगा सापकोटाले बताए ।
संस्थाले लायन वर्ष २०२२\०२३ भरी उद्यमशीलता निर्माण, माटो र जैविक विविधताको संरक्षण सम्बन्धि कार्यक्रमसहित अन्य परोपकारी कार्यहरू निरन्तररुपमा गर्ने योजना अगाडि सारेको क्लबका प्रथम उपाध्यक्ष लायन टीकाराम सापकोटाले बताए ।
श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडको सभाहलमा सम्पन्न कार्यक्रममा लायन्स क्लब परिवारसहित महिला समूहको उपस्थिति रहेको थियो ।





