भरतपुर, ९ साउन
भरतपुर महानगरपालिका–८ मा निर्माण भएको महालक्ष्मी ट्रायल सेन्टरमा सोमबारबाट ड्राईभिङ सिकाउन शुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार निर्माण भएको ट्रायल सेन्टरमा उक्त सेवा शुरु गरिएको सञ्चालक डम्बरबहादुर थापाले बताए ।
२ बिघाभन्दा बढी क्षेत्रफलमा अनुभवी प्रशिक्षकद्वारा ड्राईभिङ् सिकाइने उनले जानकारी दिए । उनले एकै दिनमा ४ सयभन्दा बढीलाई ड्राईभिङ् सिकाउने क्षमता रहेको बताउँदै उनले ट्राफिक नियममा आधारित सैद्धान्तिक र प्रयोगात्मक ज्ञानसहित ट्रायल पास हुने गरी सवारी सिकाइने बताए ।
ट्रायल सेन्टरमा मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेभी सवारी साधन, ट्रेक्टर दक्ष प्रशिक्षकद्धारा सिकाइने उनले बताए । उनका अनुसार टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि रहेको छ । विभिन्न जिल्लाका १५ जना युवा उद्यमीले आठ करोड भन्दा बढीको लगानीमा ट्रायल सेन्टर निर्माण गरेका हुन् ।





