डिजिटल बोर्डलाई किन कर ?

भरतपुर, ९ साउन ।
डिजिटल एड मिडिया संघ चितवनको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । ‘व्यावसायिक एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ प्रथम अधिवेशन क्षेत्रपुरमा सम्पन्न भएको हो ।

पहिलोपटक चितवन र नवलपुरका ६५ भन्दा बढी व्यवसायी समेटेर डिजिटल एड मिडिया संघ गठन गर्न सफल भएकोमा खुशी लागेको संस्थाका अध्यक्ष गुणराज दाहालले बताए । तर डिजिटल बोर्डलाई महानगरले करको दायरामा ल्याएको, बजार अनुगमन नगरेको, व्यवसायीबीचमा रेटको एकरुपता नभएको कुरामा भने उनले असन्तुष्टि पोखे । महानगरले लगाउन खोजेको करलाई व्यवसायी मिलेर समाधान खोज्नुपर्नेमा उनको जोड थियो ।
डिजिटल बजार प्रतिस्पर्धाको नाउँमा एड मिडियाको भाउ दिनानुदिन घट्दै जानुले व्यवसायलाई धरासायी बनाइरहेको दाहालले बताए । ‘हामीले संस्था बलियो बनायौँ र आफूलाई चाहिने दक्ष जनशक्ति आफैँले उत्पादन गर्न सक्यौं भने हामी बलियो हुनेछौं’ उनको तर्क थियो ।

कार्यक्रमका विशिष्ट अतिथि भरतपुर–३ का वडा अध्यक्ष विकास थापाले आफूले दोहोरो भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । ‘हिजो म व्यवसायीहरुको प्रतिनिधि थिएँ, आज जनप्रतिनिधि भएको छु । यसले मलाई एकातर्फ खुशी दिएको छ भने अर्कोतर्फ चुनौती दिएको छ’ उनले भने, ‘अहिले म नीति निर्माणको भूमिकामा छु । महानगरले कसरी व्यवसायीलाई राहत दिन सक्छ भन्नेमा मेरो सहयोग रहनेछ ।’

कार्यक्रमका प्रमुख अतिथि चुननारायण श्रेष्ठले डिजिटल विज्ञापन मिडियालाई वस्तुगततर्फको मान्यता दिएर दर्ता गर्न तयार रहेको बताए । समयसापेक्ष व्यवसायीहरुले आफ्नो व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानु व्यवसायीको दायित्व भएको उनको भनाइ थियो । उद्योग वाणिज्य संघले गर्ने सहयोगका लागि आफू हरतरहले तत्पर रहेको उनको भनाइ थियो ।

महानगरले अनावश्यक रुपमा लगाउन खोजेको करको लागि आफूहरुले मुद्दा नै हाले पनि जित्ने उनको तर्क थियो । ‘एकलौटी व्यवसाय ऐन २०१४ र संयुक्त व्यवसाय ऐन २०२० ले आफूले गरेको व्यवसायको दर्ता र नाम सबैले देख्ने गरी अगाडि राख्नुपर्ने प्रावधान छ । सोही अनुरुप हामीले बोर्ड राख्न पाउनुपर्दछ ’ उनले भने । महानगरले अण्डा दिने कुखुरा संरक्षण गर्नुपर्नेमा काट्न खोजिरहेको आरोप लगाउँदै उनले यसले दीर्घकालीन रुपमा महानगरलाई नोक्सान हुने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट