हिंसाको उजुरीपछि ३ पटक छलफल भएको थियो प्रहरीमा

भरतपुर, ९ साउन
भरतपुर–१०, रमाइलोचोक नजिकै घर भएका ४३ वर्षीय कृष्णप्रसाद आचार्य ६ वर्षदेखि दुबई बस्थे । गत जेठ १९ गते उनी एक्कासि घर आए । ३५ वर्षीया श्रीमती रुष्मा र १२ वर्षीया छोरी रोयस्ना घरै थिए ।

आएलगत्तै उनले श्रीमतीसँग झैझगडा गर्न थाले । दिनदिनै कुटपिट गर्न थालेपछि श्रीमती रुष्माले जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा आफूमाथि हिंसा भएको भन्दै उजुरी गरिन् । असार २ गते परेको उजुरीको आधारमा ३ गते प्रहरीले दुबै पक्षलाई छलफलमा बोलायो ।

छलफलले निचोड ननिकालेपछि उनीहरूलाई फेरि १७ गते बोलाइयो । उनीहरू दुबै पक्ष एकैघर बस्न नसक्ने अवस्थामा पुगे । प्रहरीले मिल्न अझै समय दियो । उनीहरू परिवारसहित असार ३१ गते भेला भए । प्रहरी कार्यालयमा भएको तेस्रो छलफलबाट उनीहरूले आपसमा मिलेर बस्न नसक्ने भन्दै कानूनीरूपमै अलग भएर बस्ने सहमति गरे ।

यो सहमतिपछि पनि उनीहरू एउटै घरमा बसे । तर, फ्ल्याट र भान्सा भने फरक–फरक थिए । कृष्णसँगै आमा पनि बस्थिन् । रुष्मा छोरीसँगै बस्थिन् ।

आइतबार राति करिब १०ः२५ बजे घरमा आमा नभएको मौका छोपेर कृष्णले श्रीमती रुष्मामाथि धारिलो हतियार खुकुरी प्रहार गरे । घाँटीमै ताकेर खुकुरी हानेपछि गम्भीर घाइते भएकी रुष्मालाई तुरुन्तै कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर लगिए पनि १०ः४० बजेतिर अस्पतालले मृत घोषणा गर्‍यो । कृष्णले रुष्माकै फ्ल्याटमा गएर छोरी रोयस्नाको आँखै अगाडि श्रीमतीमाथि प्रहार गरेका थिए ।

श्रीमतीलाई मरणासन्न हुने गरी खुकुरी हानेपछि तीन तलाबाट हाम फालेका कृष्ण आफू पनि बाँचेनन् । खुकुरी प्रहारलगत्तै तेस्रो तलाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको लाग्यो । तुरुन्तै उद्दार गरी चितवन मेडिकल कलेज लगिएका उनलाई अस्पतालले राति करिब ११ बजेतिर मृत घोषणा गर्‍यो ।

रुष्मा राष्ट्रिय मावि तोरीखेतमा शिक्षण गर्थिन् ।

प्रहरीले श्रीमतीको हत्यापछि भाग्ने क्रममा खसेको हो कि आत्महत्याका लागि हामफालेको भन्ने खुल्न नसकेको बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले घटना गराएपछि आत्तिएर भाग्दा खसेको हो वा आत्महत्या गर्ने नियतले नै हामफालेको हो एकिन गर्न नसकिएको बताए ।

रुष्माले श्रीमान्बाट आफूमाथि मानसिक, शारीरिक र आर्थिक तीनखाले हिंसा भएको भन्दै प्रहरीमा उजुरी हालेकी थिइन् । यी कारणले नै आफू श्रीमान्सँग मिलेर बस्न नसक्ने अवस्थामा पुगेको उनले उल्लेख गरेको नायब उपरीक्षक अधिकारीले बताए ।

उनीहरूबीचको झगडा मिलाउन छिमेक र आफन्तमा पनि प्रयास भएको देखिन्छ । त्यहाँ सम्भव नभएपछि कानूनीरूपमै छुट्टिएर बस्ने सहमति गरेको आफन्त बताउँछन् ।

श्रीमतीको सम्बन्ध अन्यत्रै रहेको आशंका गरेका कृष्ण विदेशबाट रिसाएर आएको अनुमान गरिएको छ । आएलगत्तै उनले श्रीमतीलाई घाँटी थिचेको कतिपयले प्रहरीमा बताएका छन् । त्यसपछि रुष्मा प्रहरीकोमा पुगेकी थिइन् । उनले श्रीमान्बाट आफू असुरक्षित रहेकोले सँगै बस्न नसकेको बताएकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट