भरतपुर, ९ साउन
आँखादानसम्बन्धी चेतनामूलक लघु चलचित्र ‘थर्ड आई’को प्रिमियर शो गरिने भएको छ । मंगलबार बिहान ८ बजे नारायणगढको क्युएफएक्स जलमामा चलचित्र देखाउन लागिएको हो ।
चितवन जिल्ला बार एशोसिएशनका सचिवसमेत रहेको अधिवक्ता विनोद मिश्रले निर्माण गरेको यो चलचित्रले मान्छेको देहान्तपछि खेर जाने आँखा अरू कसैलाई दान गर्न सकिन्छ भन्ने सन्देश बोकेको छ । ४० मिनेट लामो यो चलचित्रमा सरोज दाहाल र कमला अधिकारीको मुख्य भूमिका छ ।
साथमा रेनुका प्रधान, विमला अधिकारी, राजु अधिकारी, राजीव न्यौपाने, केडी प्रशित र सुरज पोखरेलको साथमा निर्माता मिश्रको पनि अभिनय यसमा देख्न सकिन्छ ।
हलै काठमाडौँमा आयोजित लघु चलचित्र अवार्ड कार्यक्रममा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड पाएको यस चलचित्रलाई आशुतोश अधिकारीले निर्देशन गरेका छन् ।
धेरैभन्दा धेरै व्यक्तिलाई आँखा दानका लागि प्रेरित गर्नु यो चलचित्रको उद्देश्य रहेको निर्माता मिश्रले बताए । “मरेपछि खेर जाने आँखा झिकेर अर्कोमा प्रत्यारोपण गर्न सकिन्छ”, उनले भने, “त्यसका लागि मान्छेलाई उत्प्रेरित गर्नकै लागि यो चलचित्र बनाएका हौँ ।”





