वन्यजन्तुको गतिविधि बढ्दा स्थानीय त्रसित

राप्ती, ५ साउन
राप्ती र खैरहनी नगरपालिकाभित्रका मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको गतिविधि बढ्दै जाँदा स्थानीय त्रसित बनेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार यो आर्थिक वर्षभित्र वन्यजतुको आक्रमणबाट राप्तीका २ जनाले ज्यान गुमाएका छन् । वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन् । खैरहनी नगरपालिकामा वन्यजन्तुको आक्रमणबाट तीन जनाको ज्यान गएको छ भने त्यत्ति नै संख्यामा घाइते भएका छन् ।

पछिल्लो समय निकुञ्ज आसपासका ठाउँहरुमा जंगली हात्ती र बाघको आक्रमण बढ्दा साँझ परेपछि गाउँघरमा हिँडडुल गर्न डराउनु परेको स्थानीय बताउँछ्न् । जंगली हात्तीबाट घर, गोठ तथा अन्नबालीको नोक्सानी हुने क्रम पनि रोकिएको छैन ।

वन्यजन्तुको आक्रमणको डरले साँझ नपर्दै घर फर्कनु पर्ने बाध्यता निम्तिएको राप्ती–१ का जगन्नाथ छत्कुली बताउँछन् । समूहमा हिँड्नुको विकल्प नरहेको उनको भनाइ छ । जंगली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सानी गरिदिँदा गाउँले चिन्तित बनेको राप्ती–१ नयाँबस्तीका आइतसिंह प्रजा बताउँछन् ।

आहारको खोजीमा निस्किएका वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्दा दुर्घटना निम्तिएको विज्ञहरुको दाबी छ । मानिसहरु घाँस दाउरा काट्न तथा माछा मार्न निकुञ्ज तथा निकुञ्ज आसपासका जंगल पस्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको उनीहरुको भनाइ छ ।

निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । तथ्यांकअनुसार अन्नबाली तथा घरपालुवा जनावरको नोक्सानी यस बर्ष बढेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट