भरतपुर, ३ साउन ।
पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका नेपाल् विद्युतका प्राधिकरण भरतपुरका कर्मचारी धरौटीमा छुटेका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्युत प्राधिकरण भरतपुर शाखाका कार्यालय प्रमुख राजीव सिंहसहित ८ जनालाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटीमा छाडेका हुन् ।
पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा उनीहरु प्रहरीको नियन्त्रणमा थिए । गत असार ३१ गते भरतपुर वितरण केन्द्रमा मदिराले मत्त कर्मचारीहरुले पत्रकार कृष्ण आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए । आचार्यको हातमा चोट लागेको छ । शनिबार पत्रकार आचार्यले किटानी जाहेरी दिएको आधारमा प्रहरीले आइतबार मुद्दा दर्ता गरेको थियो ।
पत्रकार आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजीव सिंह, सुपरभाईजर इलेक्ट्रिकल आन्नदबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएका थिए ।
अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने कानुनी व्यवस्था छ । १ वर्षसम्म कैद, दस हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा उल्लेख छ ।




