कछुवा गतिमा काम

हालसालै तपाइँले नारायणगढदेखि बुटवलसम्मको यात्रा गर्नुभएको छ ? छ भने तपाइँलाई बिस्तार कार्य कछुवा गतिमा भइरहेको यो सडकखण्डमा यात्रुले पाउने सास्तीबारे केही भन्नै परेन । यो सडकखण्डमा यात्रा नगरेकाहरुलाई अचम्म लाग्ला, महेन्द्र राजमार्गको यो यात्रा कुनै दुर्गम पहाडी जिल्लाको सडकमा भन्दा कम कष्टकर छैन । सडक बिस्तार भइरहेको छ भनेर राजमार्गमा पर्ने स्थानीय पालिकाहरुले सडक मर्मत गर्नै छाडेका छन् । बाटोमा खाल्डाखुल्डी जता पनि देख्न सकिन्छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको नियति सडकले बेहोरिरहेको छ । अनि सास्ती पाइरहेका छन् यात्रु, चालक र सडकछेउका बासिन्दाले ।

यो सास्तीको अन्त्य कहिले हुन्छ ?
२०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्डका अलगअलग कार्यालय स्थापना गरे पनि काम भने दुवैतिर सुस्त देखिन्छ । चिनियाँ कम्पनीले सडक विस्तारका लागि रुख कटान गरेको छ भने विद्युत् पोल सार्ने र खानेपानी पाइप पर्ने ठाउँमा त्यसको व्यवस्थापन गर्ने काम भएको छ ।

बुटवल बर्दघाट सडकखण्डमा अहिले २० प्रतिशत र गैँडाकोट बर्दघाट क्षेत्रमा हालसम्म १८ प्रतिशत मात्र काम भएको आयोजनाले जनाएको छ । यो हिसाबले कहिले सम्पन्न होला सडक बिस्तारको काम ?
बुटवल नारायणगढ सडक विस्तारको सम्झौता भएको ३ वर्षे अवधि पूरा भएको छ । तर सडक बिस्तारको काम भने पूरा भएको छैन । यसले गर्दा सडकछेउमा व्यवसाय गर्नेहरुलाई समेत सास्ती भएको छ । सडक छेउका व्यवसायी तथा स्थानीयहरुलाई धुलोले धेरै असर पारेको छ । सडक विस्तारका लागि काम सुरु भएपछि उनीहरुले धुलोको सामना गर्नु परेको छ । बिहान बेलुका पसलमा रहेका सामान सफा गर्दा पनि धुलो उस्तै रहन्छ । धुलोले गर्दा स्वास्थ्यमा असर पारेको छ । बर्खा लाग्यो, अब भने पानी परेर सडक हिलाम्मे हुने गर्छ । तीन वर्ष कष्ट काटेपछि फराकिलो बाटोमा सररर मोटर गुडेको देख्न पाइने आशा मर्न थालेको छ । अझै कति वटा तीन वर्ष बित्ने हुन् कुन्नि ?

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट