लय छुटेको समयले समातेको लय

गैँडाकोट, ३२ असार।

प्रा. डा. कृष्णप्रसाद पौडेलको सबैले जानेको परिचय हो– अर्थोपेडिक सर्जन । तर, केही वर्षयता उनी बलियो लेखकको रूपमा अघि बढिरहेका छन् । ‘खुसीहरूको वनवास’ कवितासङ्ग्रहबाट नेपाली साहित्यमा पाइला अघि बढाएका डा. पौडेलले एकपछि अर्को पुस्तक लेखिरहेका छन् ।

डेढ वर्षअघि ‘कम्मरीदेखि कोभिड कहर’ लेखेका उनले यसपालि ‘लय छुटेको समय’ लेखेका छन् । असार तेस्रो साता बजारमा आए पनि यो किताबको विमोचन भने शनिबार मात्रै गरियो । गुरुपूर्णिमासमेत परेको महिना भएकोले डा. पौडेलले यो किताब आफ्ना गुरुबाटै विमोचन गराउने चाहना गरिरहेका थिए । सोहीअनुरुप उनले विमोचक रोजे– डा. शेखर कोइराला । डा. कोइराला नेपाली कांग्रेसका नेता त हुँदै हुन्, त्योभन्दा बढी डा. पौडेलको साइनो गुरुका रूपमा छ उनीसँग ।
“म गुरुको हातबाट किताब सार्वजनिक होस् भन्ने चाहन्थेँ”, डा. पौडेलले भने, “त्यसैले गुरु डा. कोइरालालाई अनुरोध गरेँ ।” डा. कोइरालाले सहर्ष स्वीकार गरे । तर, समय मिलाउन हम्मे पर्‍यो । उनको व्यस्तताले गर्दा किताब विमोचन कार्यक्रम ३ चोटि सारिए । अन्ततः डा. कोइराला शनिबार आए र किताब सार्वजनिक भयो ।

गैँडाकोटको द नारायणी रिसोर्टमा आयोजित कार्यक्रममा डा. पौडेल मक्ख थिए । भने, “आफ्नै गुरुबाट किताब विमोचन गर्न पाउनु मेरो भाग्य हो ।” हाल भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका डा.पौडेललाई डा. कोइरालाले चिकित्सा शिक्षामा स्नातक गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पढाएका थिए । उनले डा. पौडेलको किताब मन परेको प्रतिक्रिया दिँदै भने, “विद्यार्थीकालदेखि नै कृष्णलाई चिन्छु, उनी विशेष क्षमताका लाग्थे, किताब लेख्नु त्यसको दरिलो प्रमाण हो अझै लेख्दै जानू ।” डा. पौडेलले आफ्नो भाषणमा अब ३ वर्षपछि मात्रै अर्को पुस्तक लेख्छु भनेको प्रति टिप्पणी गर्दै डा. कोइरालाले सुझाव दिए, “मेडिकल सुपरिटेन्डेन्ट बनिरहने इच्छा भएर होला, भो अब यता मन नगर्नू किताब धेरै लेख्नू ।”

प्रमुख अतिथि कोइरालाले पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राखे । “उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ । उहाँ चिकित्सक मात्रै नभएर समाजशास्त्रमा एमए गरेको व्यक्ति भएका कारणले यो सम्भव भयो”, कोइरालाले भने ।

‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखिएको पुस्तक हो । यसमा दुई खण्ड छन् । पहिलोमा उनले बिरामीसँग जोडिएका संस्मरण समेटेका छन् । बिरामीको मनोविज्ञान र आफ्नो अनुभूतिको सम्मीश्रण समेटिएको यो खण्डमा रोचक कथानक पाइन्छ । बिरामीका समस्या, अप्ठ्यारा परिस्थिति तथा बाध्यतालाई उनले रोचक कहानीको स्वरुप दिएका छन् । जसले लेखनमा कला भरिदिएको छ । यसलाई थप पुष्टि गर्दै समालोचक डा. एकनारायण पौड्यालले भने, “चिकित्सकले लेखेको भए पनि किताबका भाषा सरल छन्, कथात्मक छन्, कलात्मक छन् ।”
यसैलाई थप जोड दिए वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले पनि । भने, “कृष्णबाबु चिकित्सक भए पनि आफूभित्र रहेको साहित्यकारलाई राम्रैसँग बाहिर ल्याएका छन् ।” दोस्रो खण्डमा कोरोना र लकडाउनका सन्दर्भमा उनले लेखेका दैनिकी छन् । त्यसमा आफूले भोगेका, देखेका र सुनेका सन्दर्भहरू छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले पनि डा. पौडेलको लेखनले आफूलाई पनि लेख्नुपर्छ भन्ने प्रेरणा मिलेको बताए । “उहाँ अर्थोपेडिक डाक्टर हुनुहुन्छ तर किताबमा पढ्दै जाँदा मैले(फिजिसियनले) भोगेका अनुभूति पनि सबै आएका छन्”, उनले भने, “मैले पो लेख्नुपर्ने किताब उहाँले लेख्नुभयो, अब म पनि लेखूँ कि ?” उनले आफूसँग करिब २ दशकको चिकित्सा अभ्यासमा केही रोचक र केही घोचक किस्सा अनगिन्ती रहेकोले त्यसलाई किताबको रूप दिन सकिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि मन्तव्य व्यक्त गरेका थिए । तर, नेताका रूपमा होइन । उनी डा. पौडेललका सहपाठी थिए वीरेन्द्र क्याम्पसमा प्रवीणता प्रमाणपत्र पढ्दा । त्यो बेलादेखि अहिलेसम्मका मित्रताका किस्सा र बौद्धिकता प्रदर्शनबारे उनले सम्झनाका तरेली प्रस्तुत गरे ।

कार्यक्रमका अध्यक्षसमेत रहेका साङ्ग्रिला बुकका प्रतिनिधि लेखराम सापकोटाले डा. पौडेलको लेखन क्षमताको कदर गर्दै किताब प्रकाशन गरेको जानकारी गराए । “सबै चिकित्सकले उपचार गर्छन् । तर, थोरैले मात्रै अनुभूति सार्वजनिक गर्छन्”, उनले भने, “हामी त आग्रह गर्छौं, सकेसम्म सबैले लेख्नुहोस्, डा. कृष्णले जस्तै बौद्धिकता बाँडेकै राम्रो, बाँडे झन् बढेर जान्छ ।”
यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरूसमेत रहेका छन् । साङ्ग्रिला बुकले प्रकाशन गरेको किताबको मूल्य ४९५ रुपैयाँ तोकिएको छ । किताबलाई बजारमा बेचिरहेको छ सम्पूर्ण किताबले ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट