राप्ती नगर सार्वजनिक सुनुवाइ: सुझाव र गुनासोको ओइरो

राप्ती,३२ असार ।

पूर्वी चितवनको राप्ती नगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। नगरपालिकाले चालू आर्थिक बर्षमा गरेका सेवा प्रवाह र कार्य सम्पादनको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो। कार्यक्रमको समन्वय कला पाठशाला कलेज प्रालिले गरेको थियो ।

जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको धेरै नभएपनि सहभागीहरुले सुझाव भन्दा धेरै गुनासो व्यक्त गरेका थिए । राप्ती–७ का आइतराम विकले नगर प्रमुख शमशेर लामाले महत्त्वपूर्ण कामको लागि समय दिन नसकेको बताए । नगर प्रमुख सानातिना कार्यक्रममा अल्झिएर बसेको पनि उनले गुनासो व्यक्त गरे ।

सुचनाको पहुँच नहुनाले सार्वजनिक सुनुवाइमा राप्तीको सबै ठाउँको जनता उपस्थित हुन नसकेको उनले बताए । ‘अघिल्लो दिन फेसबुकमा पोष्ट गरेर मात्र हुँदैन । वडा तथा जनप्रतिनिधिको मार्फत नगरवासीलाई सुचित गराउनुपर्दछ ।’उनले भने । सार्वजनिक सुनुवाइ जनता दुःख पोख्ने ठाउँ भएको उनले बताए । सेवा र अनुदानको विषयमा कुनै राजनीतिक पक्षपात नगरि कार्यसम्पादन गर्नुपर्ने उनले उल्लेख गरे।

राप्ती–५ का रामशरण उप्रेतीले नगरको नारामाथि नै प्रश्न उठेको बताए । राप्तीको नाराले कृषिलाई अगाडि सारे पनि कृषिमा उल्लेख्य काम गर्न नसकेको उनले गुनासो व्यक्त गरे । कृषि क्षेत्रमा नगरले के कति बजेट विनियोजन गरेको छ यसबारे आफू अनभिज्ञ रहेको उनले बताए ।
राप्ती–६ का युवा व्यवसायी अभियान पाठकले पशुसेवामा उत्कृष्ट कार्य भएको बताए । पशुमा जस्तै कृषिमा २४ सै घण्टा उपलब्ध हुने जेटीएको व्यवस्था गरिदिन अनुरोध गरेका छन् । फूलखेती कृषकको लागि हरेक वडामा जेटीएको व्यवस्था भए यसले प्रोत्साहनको काम गर्ने बताए । ‘यो सँगै युवाहरुलाई व्यवसायमा अगाडि बढाउनको लागि बिजनेस प्लानिङ सम्बन्धि तालिमको व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछु ।’ उनले भने ।

राप्ती–५ का चुम्बक लामाले खानेपानी तथा सिँचाइको लागि बोरिङ व्यवस्था भएको तर पानी रिचार्जको लागि कुनै योजना नभएको बताए । त्यस्तै उनले युवा तथा खेलकुद विकासको लागि प्राकृतिक रंगशालाको परिकल्पना गरि अगाडि बढ्दा पनि बजेट नछुट्टिएको गुनासो गरे ।

राप्ती–५ कै कुशल पाठकले फोहर व्यवस्थापन र यसबाट हुने सक्ने आम्दानीको बारेमा सुझाव दिएका थिए । उनले चुनावी नारा सम्झाउँदै फोहरबाट मोहर कमाउने बारे नगरपालिकाको ध्यान जानुपर्ने बताए ।

राप्ती–४ का सुधिर गौतमले बजेट तथा योजना जनतामा सुचीकृत हुनुपर्ने बताए । ‘कृषि क्षेत्रमा राज्यकै मुख ताक्नुपर्ने हो कि राप्ती नगरपालिकाले छुट्टै केही गर्न सक्छ?’ उनले प्रश्न गरे। कार्यक्रममा सहभागीहरुले स्वास्थ क्षेत्रमा सुधार हुनुपर्ने, योजनाको बारेमा सबैलाई जानकारी हुनुपर्ने, फोहोर व्यवस्थापन गर्नुपर्ने जस्ता प्रश्न, सुझाव, माग र गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्ष समेत रहेका नगर प्रमुख शमशेर लामाले आएका गुनासोलाई सम्बोधन गर्ने तथा सुझावहरुलाई आत्मसात गर्दै अगाडि बढ्ने बताएका छन् ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट