देवचुली, ३२ असार ।
देवचुली नगरपालिकामा भैंसीको दुधको मुल्यमा वृद्धि गरिने भएको छ । देवचुली भैंसीपालन कृषक समूहले शनिबार दलदलेमा पत्रकार सम्मेलन गरि साउन १६ गतेदेखि प्रतिलिटर भैंसीको दुधको खुद्रा मूल्य रु १२० कायम गरिने जानकारी गराएको हो ।
पशुपालन क्षेत्रमा आवश्यक पर्ने पराल, भुसा, घाँस, दाना, चापट, ढुटोलगायतका वस्तुहरुमा अत्याधिक मूल्य वृद्धिका कारण दुधको मूल्यवृद्धि गर्नुपरेको कृषक समूहकी अध्यक्ष गोमादेवी घिमिरेले बताइन् । अहिले भैंसीको दुधको मूल्य प्रतिलिटर रु १०० रहेकोे छ । किसानहरुलाई भैंसीपालनमा बचाई राख्न र भैंसीको दुध निरन्तर उत्पादन गर्न दुधको मूल्यवृद्धि गर्नुपरेको घिमिरेले बताइन् ।
देवचुली भैंसीपालन कृषक समूहकी अध्यक्ष गोमादेवी घिमिरेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा देवचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भूमिसरा आले, वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटा ,वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद भुर्तेल, वडा नम्बर १३ का अध्यक्ष एकदेव पौडेल, पशु स्वास्थ्य शाखाका सत्यनारायण गोईतलगायतको आतिथ्यता रहेको थियो ।
वडा अध्यक्षहरुले दुधको मूल्य वृद्धि समस्याको समाधान नभई नगरपालिकामा सर्वपक्षीय छलफल गरि आवश्यक मुल्यवृद्धि गर्नु राम्रो हुने कृषक समूहलाई बताए । पत्रकार सम्मेलनमा भैंसीपालक कृषकहरुले नगरले विभिन्न योजना बनाई किसानहरूका लागि विशेष योजना बनाउन अनुरोध गरेका थिए ।
पत्रकार सम्मेलनमा देवचुली भैंसीपालन कृषक समूहका उपाध्यक्ष रेनुका न्यौपानेले स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण देवचुली भैंसीपालन कृषक समूहका कोषाध्यक्ष नारायण पाण्डेले गरेका थिए ।





