राप्ती, ३१ असार ।
स्वास्थ्य सेवा उपयोग गर्न पाउनु नागरिकको दायित्व हो । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको अनिवार्य दायित्व पनि हो । तर यो दायित्वबाट राप्ती नगरपालिका भने पन्छिएको आभास हुन थालेको स्थानियको गुनासो रहेको छ । करिब ६४ हजार भन्दा बढी जनसंख्या रहेको जिल्लाको सुदुर पूर्वमा रहेको यस नगरपालिकामा एउटा नगर अस्पताल भने चालू अवस्थामा रहेको छ । करिब ४ बर्ष अघिदेखि संचालनमा आएको भण्डारा अस्पताल स्वास्थ्य चौकिबाट स्तर उन्नति भै १० बेड क्षमताको अस्पतालको रुपमा संचालित भएको हो ।
तर अस्पतालको गुणस्तरीयता, अन्तरङ्ग सेवा लिने बिरामीको चाप र नगरवासिले गरेको भरोसालाई आधार मान्ने हो भने यो अस्पताल नभएर स्वास्थ चौकी या स्वस्थ्य केन्द्र मात्रै हो । यस अस्पतालमा ३ जना मेडिकल अफिसर तथा ३ जना स्टाफ नर्स सहित २६ जना कर्मचारी तथा स्वस्थ्यकर्मीहरु कार्यरत छन् । त्यस्तै आधुनिक ल्याब पनि स्थापना गरिएको छ । तर नगरवासीको भरोसा जित्न नसक्दा दैनिक २०/२२ जना भन्दा बढी बिरामी अस्पतालमा आउने गरेका छैनन् ।
सरकारबाट १० बेड क्षमताको सञ्चालन अनुमती पाएको यस अस्पतालले ३ वटा बेड मात्र उपलब्ध गराएको छ । त्यो पनि इमर्जेन्सी बेडबाट मात्र उपचार गरिएको छ । भवन अभावको कारणले इमर्जेन्सी उपचार कक्ष र ओपिडी कक्ष एउटै कोठाबाट सञ्चालन गरिएको छ । त्यस्तै एउटै भवनबाट कार्यालय, मिटिङ्ग हल, फार्मेसी, ल्याब तथा एक्स रे, इमर्जेन्सी वार्ड र ओपिडी कक्ष एकै ठाउबाट सञ्चालन गरिएको छ । जसका कारण सेवा प्रवाहमा कठिनाइ आएको भण्डारा अस्पतालका प्रमुख बुद्धी बहादुर विश्वकर्मा बताउछन्।
मुजुदा स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बाट करिब ७० जना बिरामिलाइ उपचार सेवा दिन सकिने भएपनी भौतिक तथा अन्य उपकरण को अभावले सेवाग्राहीको संख्या बढाउन नसकिएको उनको दाबी छ । त्यसो त संघिय सरकारको आर्थिक सहयोगमा नजिकै अस्पतालको नयाँ भवन बन्न सुरु भएको छ । तर यो भवन निर्माणको रफ्तार हेर्दा दुई तीन बर्ष भित्रमा निर्माण सम्पन्न हुने कुनै छाँटकाँट छैन । त्यसैले नयाँ भवन निर्माण नहुन्जेलसम्म “के नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा उपयोगबाट बन्चित हुनुपर्ने हो ? के नगरवासिले उपचारको लागि अझै पनि भरतपुर नै पुग्नु नै पर्ने हो ? ” भन्ने जस्ता गम्भीर प्रश्न अहिले उठ्न थलेका छन् ।





