चितवन,२९ असार।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना शहर बन्ने दिशामा अगाडि बढी सकेको बताएकी छिन् ।
उद्योग वाणिज्य संघ चितवनले बुधबार नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले नमुना शहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना शहर बन्ने उल्लेख गरिन्।
मेयर दाहालले भरतपुर शिक्षाको शहर, स्वास्थ्यको शहर, कृषिको शहर, झिलिमिलि बत्तिको शहर, पर्यटनको शहरको हुँदै बहुआयमिक शहरका रुपमा अघि बढी रहेको बताइन् ।
‘महानगरले शिक्षामा उल्लेख्य फड्को मारेको छ’ उनले भनिन्, ‘स्वास्थ्यको त हब नै हो । कृषि उत्पादनलाई यस वर्ष प्राथामिकतामा राखेका छौ । मूख्य बाटोमा स्र्माट बत्ति जडान हुने काम चल्दैछ । भरतपुर नमुना हुँदैछ ।’
‘भरतपुरको विकासका लागि ‘भरतपुर भ्रमण वर्ष २०८०’ पनि घोषणा गरेका छौ, यो अवधिमा पर्यटकलाई भरतपुरको विकासलाई देखाउने लक्ष्य लिएका छौ’ मेयर दाहालले भनिन्।
भरतपुरलाई बहुविषेशतायुक्त शहरको रुपमा विकास गर्ने गरी सन्तुलित विकास अगाडि बढाइएकाले भरतपुर नमुना शहरको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिचित हुने मेयर दाहालको भनाइ छ ।
भरतपुर महानगरमा निर्माणधिन सिटी हल, अन्तराष्ट्रिय क्रिकेट रंगशाला, प्रसाशकिय भवन, नारायणी तटबन्धन लगायतको राष्ट्रिय गौरबको आयोजन निर्माण भएसँगै यहाँको चित्र फेरिने उनले जिकिर गरिन् ।
स्थानीय सरकारको पहलमा मात्र भरतपुरको विकास नहुँने भन्दै मेयर दाहालले निजी क्षेत्रको सहकार्यमा दीर्घकालिन महत्वका विकासका योजनाहरु अगाडि बढाउन सकिने उनको भनाई छ । ‘निजी क्षेत्र विकासका पिल्लर हुन’उनले भनिन् ‘निजी क्षेत्रको सहकार्यमा व्यवस्थित शहर बनाउन सकिन्छ । भरतपुर महानगर निजी क्षेत्रसँग धेरैभन्दा धेरै सहकार्य गर्न तयार छ । निजी क्षेत्रको सल्लाह अनुसार महानगरले विभिन्न गतिविधि गर्दै आइरहेको छ । भरतपुरको राजस्व वृद्धि गर्न निजी क्षेत्रको ठूलो भूमिका छ ।’
मेयर दाहालले भरतपुरको आन्तरिक आय वृद्धि गर्दा भरतपुरको थप विकास हुने भएकाले करको दायरा फराकिलो बनाउदै आम नागरिकलाई कर बारे बुझाउनुपर्ने उनको धाराणा थियो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा यहाँको निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा बिश्वास समेत ब्यक्त गरे ।
उपप्रमुख अधिकारीले महानगरका ठुला र महत्त्वपूर्ण आयोजनाहरु छनौट गर्दा निजि क्षेत्रसग छलफल र सहकार्य गरेर नै गर्ने गरेको समेत प्रष्ट पारे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका कार्यसमिति सदस्य सहनलाल प्रधान, उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्व अध्यक्ष रमेश कुमार पिया लगाएतले मनत्वय व्यक्त गरेका थिए।





