एजेन्सीहरूको सहयोगमा
श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले पदबाट राजीनामा नदिई देश छोडेर भागेपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति राजापाक्षले बुधबार राजीनामा दिने बताइएको थियो । राजीनामा नदिई उनले देश छोडेर भागेपछि संकटकाल घोषणा गरिएको हो ।
चार दिनअघि श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीले राष्ट्रपति भवन घेर्न अघि बढेपछि राजापाक्ष राष्ट्रपति भवनबाट भागेका थिए । राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षले राजीनामा नदिएसम्म कब्जा गरिएको भवन नछोड्ने अडान राखेका थिए ।
राष्ट्रपति राजापाक्ष भागेर अमेरिका जान चाहे पनि अमेरिकाले शरण नदिने भएपछि राजापाक्ष माल्दिभ्सको राजधानी माले पुगेका छन् । राजापाक्षले देश छोड्न भारतले सहयोग गरेको आशङ्का गरिएको छ । यसअघि मंगलबार बिहान पनि राजापाक्षले देश छोड्ने प्रयास गरेका थिए । देश छोड्न विमानस्थल पुगेका उनलाई अध्यागमन विभागले फिर्ता पठाएको थियो । मंगलबार देश छोड्न नसकेका उनले बुधबार बिहान सेनाको हेलिकप्टर प्रयोग गरेर देश बाहिर गएका हुन् ।
राजीनामा दिएपछि नयाँ प्रशासनले उनलाई कारबाही गर्नसक्ने भएपछि उनले राजीनामा नदिइकन नै देश छाडेर बाहिरिएका हुन् । श्रीलंकाको संविधान अनुसार राष्ट्रपतिले सभामुखसामु राजीनामा दिएपछि मात्रै नयाँ राष्ट्रपति चयन प्रक्रिया शुरु हुन्छ । राष्ट्रपतिले राजीनामा दिएसँगै नयाँ राष्ट्रपति नियुक्त नहुँदासम्म प्रधानमन्त्रीलाई नै कार्यवाहक राष्ट्रपतिको भूमिका दिने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति राजापाक्षसँगै उनका भाइ बेसिल राजापाक्षले समेत देश छोडेका छन् । पूर्वअर्थमन्त्री रहेका उनको देश छोड्ने पहिलो प्रयास असफल भए पनि दोस्रो प्रयासमा उनी देश छोड्न सफल भएका हुन् । उनी अमेरिकातर्फ लागेको दाबी गरिएको छ ।
देशको आर्थिक अवस्था कमजोर भएसँगै खाद्यान्नलगायत इन्धन आपूर्तिमा समस्या आएपछि गत अप्रिलमा पनि श्रीलंकामा ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा सरकारी धनजनको क्षति भएको भन्दै सरकारले केही दिनका लागि संकटकाल घोषणा गरे पनि त्यो धेरै दिन टिक्न सकेको थिएन । उक्त समयमा बढेको प्रदर्शनसँगै प्रधानमन्त्री रहेका महिन्द्रा राजापाक्षले राजीनामा दिएका थिए। उनीसँगै महिन्द्राका भाइ बासिलले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति गोटावायाको राजीनामा आएसँगै श्रीलंकाको संसदले नयाँ राष्ट्रपति चयनको प्रक्रिया थाल्ने भनिएको थियो । पदबाट राजीनामा नदिइ राष्ट्रपति राजापाक्षले देश छोडेपछि श्रीलंकाको राजनीतिक संकट के हुन्छ भन्ने अन्योल बढेको छ ।