भरतपुर,२८ असार ।
चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन भएको छ । आज भरतपुरको चौबिसकोठीमा चितवनका स्वतन्त्र युवाहरुले यौन हिंसा विरुद्ध प्रर्दशन गरेका हुन् । गत शनिबार चितवनकी लेखक सरिता तिवारीले आफूमाथि भएको यौन हिंसाको घटना सामाजिक सञ्जालबाट बाहिर ल्याएपछि सो घटनाको विरोध गर्दै चितवनमा प्रर्दशन भएको हो।

प्रर्दशनमा सहभागिहरुले ‘सर्भाइभरलाई विश्वास गरौ’, ‘यौन हिंसा आरोपीलाई बहिस्कार गरौ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलाहरुलाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका हुन् । सो हिंसा विरुद्धको प्रर्दशनी कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा. सुवास बस्नेतले यौन दुव्र्यवहार घटना बाहिर ल्याउन अझैपनि कठिन रहेको उल्लेख गरे । उनले लेखक तिवारीले आफूमाथि भएको दुव्र्यवहारको घटना बाहिर ल्याउँर्दै गर्दा सामाजिक व्यवस्था, परिवेस र पितृसत्ताविरुद्ध बोल्न कति कठिन छ भन्ने देखिए पनि बोल्न कति जरुरी छ भन्ने साहासको प्रतिक बनेको उल्लेख गरे ।

समाजमा यौन दुव्र्यवहार घटना धेरै नै फैलिएको भन्दै महिला हिंसाका घटना बाहिर ल्याउनु आवश्यकता रहेको उनले बताए । लेखक तथा महिलाअधिकारकर्मी सावित्री गौतमले महिला कहिँ पनि सुरक्षित छैनन भन्ने कुराको भोगाइलाई तिवारीमाथि घटेको घटनाले थप एकपटक पुष्टी गरेको बताइन् । ‘आफ्नै सहयोद्धा ३० औँ वर्षदेखि एउटा वाद सिद्धान्तलाई बोकेर हिडेको मान्छेहरुबाट पनि हामी सुरक्षित रहेनछौ ।’ उनले भनिन्, ‘वर्षौ सम्म महिलाको मुद्धा बोकेर हिड्ने , महिलाहरु कहाँ छन् भनेर कविता लेख्नेहरु व्यक्तिबाट यौन हिंसा भएको थाहा पाउदा हाम्रो आघातको गहनता झन बढेको छ। ’ लेखक गौतमले यौन हिंसाका घटना बाहिरिएपछि सबैभन्दा पहिला पिडीत माथि विश्वास गर्नु महत्त्वपूर्ण पाटो रहेको बताइन् ।

महिला अधिकारकर्मी मिना खरेलले अहिले बाहिरीएको लेखक तिवारीमाथि भएको यौन हिंसाको घटना एउटा प्रतिनिधी घटनामात्रै भएको बताउँर्दै उनले महिलाहरु घरदेखि कार्यस्थलसम्म कहिँ पनि सुरक्षित नभएको उल्लेख गरिन् ।उनले भनिन् , ‘उहाँ एक प्रतिनीधी महिला हो । आरोपीलाई कुनै वाद विचार भनेर जोगाइयो भने तमाम महिला असुरक्षित हुनेछन् ।’ आरोतिलाई कानुनी दायारामा ल्याएर सार्वजनिक नगर्दासम्म आम महिलाहरु यस्ता खाले परिस्थीतीबाट गुज्रनुपर्ने बाध्यता रहिरहने उनले जिकीर गरिन् । उनले पिडितको पक्षमा आफुहरु उभिने र निर्भीक भएर आफ्ना सवाल राखिरहन तिवारीलाई अनुरोध गरिन् । तिवारीले २०७२ सालमा लेखक तथा कवि संगीत श्रोताले आफूमाथि यौन हिंसा गरेको भन्दै गत शनिबार सामाजिक सञ्जालबाट घटना बाहिर ल्याएकी थिइन् । आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएको समयमा यौन हिंसा गरेको लेखक तिवारीको आरोप छ ।

तर, आराेपी संगीतले भने तिवारीकाे आराेपकाे खण्डन गरेका छन् । उनले जारी गरेकाे वक्तव्यमा तिवारीले लगाएकाे आराेप कपाेलकल्पित भएकाे, व्यक्तिगत लाञ्छना लगाउने र प्रतिसाेधपूर्ण भएकाे बताएका छन् ।







