भरतपुर, २६ असार ।
नारायणगढस्थित रोयल इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेण्टले स्कटल्याण्डको एसक्यूएका साउथ एसिया रिजनल म्यानेजर मारगरेट चुरानसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । ४ वर्षयता हस्ष्टिालिटी क्षेत्रमा करियर बनाउन चाहेकालाई सीप सिकाउँदै आएको कलेजले एडभान्स डिप्लोमा र डिप्लोमा इन होटल म्यानेजमेण्टका कक्षाहरु चलाउँदै आएको छ ।
रिजनल म्यानेजर चुरानले रोयल इन्टरनेशनलका विद्यार्थीले राम्रा अवसर पाएको जानकारी पाउँदा खुशी लागेको बताए । उनले कलेजको भौतिक संरचनाको पनि निरीक्षण गरेका थिए ।
उनले सीप सिकेपछि विदेशनै जानुपर्ने सोच राख्नुभन्दा स्वदेशमै रोजगारी सृजना गर्ने गरी व्यवसाय थाल्न विद्यार्थीहरुलाई आग्रह गरे ।
रोयल इन्टरनेशनलमा एडभान्स डिप्लोमाका लागि २१ महिने कोर्ष अन्तरगत १५ महिना पढाई तथा अभ्यास र ६ महिना तारे होटल तथा रिसोर्ट तथा रेष्टुरेण्टहरुमा प्रयोगात्मक अभ्यास हुने व्यवस्था मिलाइएको छ । यस्तै डिप्लोमा तहतर्फ १५ महिने कोर्षतर्फ ९ महिना पढाई तथा अभ्यास, ६ महिना प्रयोगात्मक अभ्यास गराइने व्यवस्था छ । एडभान्स कोर्ष गरेका विद्यार्थीले अष्ट्रेलिया, अमेरिका, युके, फ्रान्स, जापान, युएई, न्यूजिल्याण्डलगायतका देशमा व्याचलर तहको दोस्रो वर्षमा अध्ययन गर्न पाउनेछन् ।
कलेजका प्रवन्ध निर्देशक आशिष घिमिरेले ४ वर्षको अवधिमा करिब २ सय जनशक्ति तयार गरिएको बताए । “होटल, रेष्टुरेण्टहरुमा जनशक्तिको माग धेरै छ, दक्षजनशक्तिको अभाव छ”, उनले भने, “हस्पिटालिटी क्षेत्रमा करियर बनाउने प्रशस्तै अवसरहरु छन् ।” कलेजमा हाल विहानी सिफ्टमा दैनिक ४ घण्टा पढाई तथा प्रयोगात्मक अभ्यास हुँदै आएको छ । कलेजमा हाल ७० जना विद्यार्थी अध्ययनरत रहेको कलेजका प्रिन्सिपल अर्जुन आचार्यले जानकारी दिए । एडभान्स डिप्लोमा तहका लागि अहिले भर्नासमेत खुलेको उनले बताए ।
कलेजले स्कटिस क्वलिफकेसन एथोरिटी (एसक्यूए) बेलायत र स्कील फर इम्पोलाइमेण्ट (एलसीसीआई) बाट मान्यता पाएको छ । कलेजले सीटिइभिटीले सञ्चालन गर्ने छोटो अवधिका तालिमहरुसमेत चलाउँदै आएको छ । एलसीसीआईका चिफ अपरेटिङ अफिसर रोशन राठीले अन्तरराष्ट्रिस्तरको कोर्षका आधारमा नेपालमै बनाइएको कोर्षले अन्तरराष्ट्रिय मापदण्ड पाएको बताए । उनले एडभान्स डिप्लोमा कोर्ष गर्नेले क्रेडिट ट्रान्सफरका रुपमा मान्यता पाउने पनि बताए ।





