मणिको `कुटी´मा मौलिकताको छाप

निबन्धकार मणि अर्यालको `कुटी´ (२०७७) निबन्धको मणि झैँ छ ।जसले पढ्यो उसभित्रको ज्योति खुल्छ । यसमा ११ वटा निबन्ध संग्रहित छन् । निबन्ध भनिए पनि यी पूर्णतया निजात्मकतामा केन्द्रीत नभइ कतै समीक्षात्मक निबन्ध, कतै काव्यात्मक निबन्ध, कतै बस्तुपरक वा वर्णनात्मक निबन्ध बन्न पुगेका छन् । जे होस् यसमा निबन्धकारको निजत्व वा मौलिकताको प्रष्ट छाप देखिन्छ ।

कतै पारिवेशिक सुन्दर प्रस्तुति, कतै सान्दर्भिक सटिक विचारले कथ्यलाई मीठास र आकर्षक तुल्याएको छ ।

कतै सुन्दर विश्लेषण एवम् विवेकशील विवेचकीय गुणले प्रभावित पारेको महसुस हुन्छ ।
यसै नैबन्धिक कृतिको छैठौं निबन्ध हो, कुटी । यसै निबन्धका आधारमा कृतिको समेत नामाकरण गरिएको छ । `कुटी´ घर, महल वा हवेली झैँ एक आवासीय स्थल हो । यो शान्ति, सरलता वा ऐकान्तिकताको प्रतिक हो । यसमा धन्चमन्च वा भीडभाडको स्थिति हुँदैन । यो स्वरुपमा पनि सानो र आवासीय संख्या पनि सिमित हुन्छ । प्राय जोगी वा सन्यासीको आस्रय गृहलाई नै `कुटी´ भन्ने गरिन्छ । जे होस् निबन्ध पनि अपेक्षाकृत लघु आकारमा सामान्य देखिन्छन् ।

आफ्नो जीवन प्राप्तिको सोच र व्यवहारलाई पनि संकेत गर्ने कृतिको शीर्षक सटीक र सार्थक देखिन्छ ।अचेल कृतिका लम्बेतान रचना पढने रुचि र जाँगर लाग्दैन । दृष्टिले पनि त्यति साथ दिँदैन । जब मणिको `कुटी´ हात पर्‍यो, उठीउठी पढे पनि रमाइलो लाग्दो देखियो । पढ्दापढ्दै सामूहिक यथार्थको बोध गराउँदै कहिँ निर्धारित यात्राहरुमा जान पर्दा पनि यसले सचेत गरायो । हामी बोक्रेशानका निम्ति आफ्नो दानापानी वा सामलतुमलको आफै व्यवस्था गरेर गन्तव्य साँध्दैनौँ ।आफ्नै भूलहरुले हामी आफैलाई बराबर भडकाइरहेका छौं । हाम्रो अव्यवहारिक र हुस्सुपन प्रति यस कृतिले जागृत गराएर सकारात्मक उर्जा भर्ने काम गरेको छ ।

आफ्नो साहित्यिक भावना वा विचारलाई सटीकतासँग प्रस्तुत गरिएको छ । त्यसैले पनि यो कृति रुचिकर मात्र होइन प्रियकर पनि लाग्यो ।

यसको छोटो, छरितो र मीठोपनले पनि निक्कै आकर्षित तुल्यायो । यो कृति एकलास जंगलमै प्राकृतिक रुपले मुस्कुराइरहेको गुलाबी फूल झैँ लाग्यो । निबन्धकार मणिलाई यस्तै निबन्ध लेखनका निम्ति उत्साहित र अभिप्रेरित हुन आग्रह गर्दछु ।

अन्तमा अत्यन्तै सामयिक उपयोगी र महत्वपूर्ण कुराहरुलाई कृतिभित्र सन्निवेश गरेर तयार पारिएको कुटीका समग्र नैबन्धिक प्रस्तुति साझा गराउन योग्य देखिन्छन् ।त्यसका निम्ति कृति पठनीय मात्र होइन संग्रहणीय समेत रहेको छ ।मणिकै शब्द सापट लिएर तपाईं यस्तै मणि दिनुहोस्, पाठकले पनि प्रसन्नताको उन्मुक्त भावमयी ज्योति दिनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट