देवचुली, २० असार ।
देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण
सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि, टोल विकास संस्था तथा सरोकारवालाहरुका लागि कोरोना, डेंगुलगायत सरुवा रोगहरुको रोकथाम र नियन्त्रणका लागि आईतबार १ दिने अभिमुखीकरण तालिम गरिएको हो ।
गर्मीको समयमा विभिन्न सरुवा रोगहरु फैलिनसक्ने भएकाले सोको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतना प्रदान गरिएको देवचुली नगरपालिकाका सिनियर अहेव शिव पराजुलीले जानकारी दिए ।
देवचुली नगरपालिका वडा नम्बर १ देखि ५ सम्मका जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारीहरुलाई कोरोना, डेंगुलगायतका सरुवा रोगहरुका लक्षणहरु, ती रोगहरुबाट कसरी बच्ने र रोग लागेमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले सहजीकरण गरेका थिए । श्रेष्ठले प्रत्येक वडामा रहेका टोल विकास संस्थाले सरसफाइलगायत अन्य स्वास्थ्य सचेतना प्रवाह गरि आफ्नो टोल, वडालाई विभिन्न सरुवा रोगहरुबाट बचाउन सकिने हुँदा सोका लागि सहभागीलाई अनुरोध गरेका हुन् ।
देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १ देखि ५ का वडा अध्यक्षहरु, वडा सदस्यहरू, टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।





