भरतपुर, १९ असार ।
`बहाल- मैत्री स्थानीय सरकार, कर प्रणालीमा व्यापक सुधार´ भन्ने मूल नाराका साथ घरबहाल सरोकार महासङ्घको १२औँ स्थापना दिवस मनाइएको छ ।
घरबहाल उपभोक्ता मञ्च चितवनद्वारा आयोजित कार्यक्रम मञ्चका अध्यक्ष ख्यामनारायण पराजुलीको अध्यक्षता तथा मञ्चका संस्थापक अध्यक्ष एवं महासङ्घका केन्द्रीय सल्लाहकार समिति संयोजक हेमराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
विशिष्ट अतिथिमा मञ्चका पूर्वअध्यक्ष एवं केन्द्रीय महिला उपाध्यक्ष पवित्रा जोशी, केन्द्रीय उपाध्यक्ष तथा २ नम्बर प्रदेश संयोजक विष्णुप्रसाद कंडेल, केन्द्रीय सदस्य पाण्डब ढकाल रहेका थिए । १२औँ स्थापना दिवस कार्यक्रममा १२ वटा मैनबत्ती बालेर कार्यक्रमलाई
उद्घाटन गरिएको थियोे । महासचिव जनकलाल कट्टेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अध्यक्ष ख्यामनारायण पराजुलीले आगामी असार २९ गते जिल्लाको स्थापना दिवस भएकोले सो कार्यक्रमलाई अझै बृहत रूपमा सम्पन्न गर्ने बताए । `घरबहाल सम्बन्धि समस्याहरुलाई संस्थागत रूपमा समाधान गर्दै बहाल कर सम्बन्धि समस्यालाई पालिकामार्फत सहजीकरण गर्न समन्वय गरिनेछ´, पराजुलीले भने -`करको दरलाई घटाई वास्तविक बहालको कर लिइ करको दायरा बढाउनका लागि संस्थाले अनुरोध गर्दै आएको र आगामी दिनमा पनि सो कार्यान्वयन गर्न अनुरोध गरिनेछ ।´
शुभकामना मन्तव्य व्यक्त गर्दै केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद कंडेलले केही जिल्लामा संस्था दर्ता गर्ने प्रक्रियामा केही समस्या देखिएको र त्यस्ता ठाउँमा महासङघमार्फत सहजीकरण गरि दर्ता प्रक्रिया सम्पन्न गरिएको बताए । त्यसैगरि महिला उपाध्यक्ष पबित्रा जोशीले घरबहाल उपभोक्ता मञ्च चितवनले धेरै समस्या समाधान गरेको र आवस्यक परेको खण्डमा महासङ्घले पनि सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाइन् । प्रमुख अतिथि मञ्चका संस्थापक अध्यक्ष एवम महासङ्घका सल्लाहकार संयोजक हेमराज पौडेलले अहिलेको केन्द्रको मुल नारा `बहाल मैत्री स्थानीय सरकार, कर प्रणालीमा व्यापक सुधार´ लाई सार्थक तुल्याउनका लागि विभिन्न पालिकाहरुसँग समन्वय गर्दै गरेको र यसलाई निरन्तर लैजाने बताए । साथै बहाल सम्बन्धि समस्या समाधानका लागि सरकारले अझै बृहत रूपमा ऐनकानुनमार्फत सम्बोधन गर्न अनुरोध गरे ।
केन्द्रीय सदस्य एवं जिल्ला सल्लाहकार पाण्डव ढकाल, महिला कार्यसमिति सदस्य दीपा शाहीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मञ्चका बरिस्ठ उपाध्यक्ष एवं बिवाद समाधान समिति संयोजक लक्ष्मी कार्कीले घरधनी र बहालमा बस्ने व्यावसायीहरुबाट परेका निवेदन उपर मञ्चले निस्पक्षरूपमा नीति र विधिको अवलम्बन गर्दै सैद्धान्तिक र व्यवहारिक रुपबाट समाधान गरेको बताइन् ।
कार्यक्रममा मञ्चका सल्लाहकार सुमित्रा महर्जन, रामप्रसाद पौडेल मञ्चका पदाधिकारी ,माडी एकाई संयोजक उमा सापकोटा तथा जिल्लाका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियोे ।





