`नोस्टाल्जिया´मा प्रेम, संघर्ष, हाँसो, रोदन, पारिवारिक घटना सबैको स्वाद छ : निर्दोष जीवन

भरतपुर, १९ असार ।

गैँडाकोटवासी लेखक, गायक एवं संगीतकार निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’ बजारमा आएको छ । इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको शनिबार गैँडाकोटमा विमोचन भएको छ । निर्दोष जीवनको नवौँ कृतिका रुपमा आएको नोस्टाल्जियाकै सन्दर्भमा लेखकलाई कायाकैरन दैनिकका प्रधान सम्पादक सूर्यप्रकाश कँडेलले नौ प्रश्न गरेका छन् । प्रस्तुत छ, प्रश्नोत्तर :

नोस्टाल्जिया किन लेख्नुभयो ?
लेख्नु पाठकको धर्म हो । आफ्नो जीवन र परिवारसँग जोडिएका केही घटना थिए । पाठकका लागि केही लेखौँ भन्ने लागेर लेखेँ ।

यसअघिको ‘मैयाँ’ कथासंग्रहको बिक्री राम्रै भयो । ‘नोस्टाल्जिया’बाट कत्तिको आशावादी हुनुहुन्छ ?
हरेक लेखकलाई पछिल्लो कृतिबाट बढी अपेक्षा हुन्छ । मैयाँ पढेका पाठकले नोस्टाल्जिया पनि पढ्नुहुनेछ भन्ने विशवास लिएको छु । शनिबार साँझसम्म दुई सय प्रति पुस्तक बिक्री भइसकेको छ । पुस्तकले राम्रै ब्यापार गर्ने अपेक्षा छ ।

‘नोस्टाल्जिया’भित्र पाठकहरुले के पाउँछन् ?
नोस्टाल्जियाभित्र आफ्नो प्रेमलाई सफल बनाउन त्याग गरेको कुरा छ । कठिन परिस्थितिमा पनि साँचो प्रेमले विश्वासघात गर्दैन भन्ने देखाइएको छ । पुस्तकभित्र मेरा बाल्यकालीन संस्मरणहरु छन् । युवा अवस्थामा भोगेको कुखुरे वैँश र टिनएज लभका कुरा छन् । पारिवारिक घटना छन् । यसभित्र प्रेम, संघर्ष, हाँसो, रोदन, पारिवारिक घटना सबैको स्वाद पाउँछन् पाठकले ।

यसअघि तपाइँका साहित्यिक कृतिहरु केके प्रकाशित छन् ?
मेरो प्रकाशित पहिलो रचना गीत हो । कृतिका रुपमा आशीर्वाद (गजल, मुक्तक, हाइकूसंग्रह, २०६१), नयाँ जीवन (उपन्यास, २०६२), मैयाँ (कथासंग्रह, २०७५) र पदमराज ढकालसँगको सहलेखन प्रिय साथी (गजलसंग्रह २०७६) प्रकाशित छन् ।

धेरै विधामा हात हाल्नुभएको रहेछ । लेखनका हिसाबले कुन विधा सजिलो लाग्छ ?
गीत, गजल, मुक्तक र हाइकू लेख्न सजिलो लाग्छ । गजलको बजार छ, गीतको छैन । गीत भनेको सुन्ने नै हो । त्यसैले गीतसंग्रह निकालेको छैन । निकाल्ने योजना पनि छैन ।

गीत, गजल लेख्नु हुन्छ । गाउनु हुन्छ । संगीत दिनु हुन्छ । आख्यान लेखनतिर पनि तपाइँको आकर्षण देखियो । चारैतिर हात हाल्नु भन्दा कुनै एक विधामा अगाडि बढ्न सकिँदैन ?
चारैतिर हात हाल्दा कतै पनि सफल हुन सकिँदोरहेनछ । यो सत्य हो । त्यो अनुभव गरेको छु मैले पनि । अब आख्यानमै अगाडि बढ्ने विचार गरेको छु । मेरो प्राथमिकतामा आख्यान परिसक्यो । गीत, संगीतले पनि निरन्तरता पाउँछन् ।

गीत, संगीततर्फका कृतिहरु के के छन् तपाइँका ?
म्युजिक एलबमहरु प्रार्थना (२०६३), कोर्राको चोट (२०७३), फस्ट लभ (२०७५) र मेरो गीत (२०७६) बजारमा ल्याएको छु ।

दुईमा एक रोज्नु पर्दा संगीत कि साहित्य ?
गीत, संगीत पनि साहित्यकै एउटा विधा भएकोले गीत, संगीतसँगै साहित्यमा अगाडि बढ्न चाहन्छु ।

पाठकहरुले ‘नोस्टाल्जिया’ किन पढ्ने ?
लेखनीका हिसाबले गीतबाट मेरो साहित्यतिरको यात्रा सुरु भए पनि पाठकको रुचि आख्यानतिर भएकोले आख्यान लेख्न थालेँ । ‘नोस्टाल्जिया’ वास्तविक घटनामा आधारित भएर लेखिएको किताब भएकोले मेरो जीवनसँग जोडिएका वास्तविकता थाहा पाउन पाठकले नोस्टाल्जिया पढ्नु पर्छ ।

एउटा लेखक जन्मनुअघि उसले संघर्षका कति घुम्ती पार गरेको छ ? जीवनमा आइपरेका कति चोट सहेर सामान्य व्यक्ति लेखक बन्दोरहेछ भन्ने जान्न नोस्टाल्जिया पढ्नुपर्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट