भरतपुर, १७ असार ।
हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा.डा.कृष्णप्रसाद पौडेलको नयाँ पुस्तक ‘लय छुटेको समय’ संस्मरण सङ्ग्रह बजारमा आएको छ । पुस्तक शुक्रबारदेखि बजारमा आएको हो ।
लेखक प्रा.डा.पौडेलका अनुसार २६४ पृष्ठको पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा उपचार, बिरामी र डाक्टरका कथा, कहानी, भोगाईहरु समेटिएका लेखहरु रहेका छन् । बिरामीका आफ्नै कथा, डाक्टरका आफ्नै कहानी पहिलो खण्डमा समेटिएको प्रा.डा.पौडेलले बताए ।
पुस्तकको दोस्रो खण्डमा कोरोना समय शुरु भएपछि दोस्रो लहर सकिने समयसम्मको संस्मरणहरु समेटिएका छन् । प्रा.डा. पौडेलले भने “मेडिकल सोसियोलोजीले खोज्ने मन छुने कुराहरु र यथार्थहरु यसमा पस्किएको छु ।”
यस पुस्तकमा एउटा चिकित्सकको आँखाले बिरामी र समुदायको दृष्टिले स्वास्थ्यकर्मी र अस्पताललाई हेर्दा निस्केका कुरालाई केलाईएको छ । कोभिड महामारीका वस्तुस्थितिहरुको अनुभव यसमा वर्णन गरिएको छ । यसमा निबन्धशैलीमा लेखिएका बिरामी र डाक्टरका कथाहरु छन् ।
साङ्ग्रीला बुक्सले प्रकाशन गरेको यस पुस्तकको वितरण सम्पूर्ण किताबले लिएको छ । पुस्तकको मूल्य ४९५ रुपैयाँ उल्लेख छ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट समेत रहेका प्रा.डा.पौडेलका यस अघि दुई वटा पुस्तक प्रकाशन भईसकेका छन् । उनको यो तेस्रो पुस्तक हो । यस अघि उनका ‘कम्मरीदेखि कोभिड कहर’ निबन्ध सङ्ग्रह र ‘खुसीहरुको वनवास’ कवितासङ्ग्रह प्रकाशित भईसकेका छन् ।
अर्थाेपेडिक विषयका प्राध्यापक उनले समाजशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् । देशका विभिन्न अस्पतालहरुका साथै विदेशका अस्पतालहरुमा समेत उनले काम गरिसकेका छन् । देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनमा मेडिकल सोसोलोजीमा चाख बढेको हो ।





