कावासोती, १५ असार ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पूर्वीनवलपरासी खण्डमा बाटो बिस्तारका क्रममा बनाइएको डाइभर्सन बगेपछि यातायात सेवा अवरुद्ध बनेको छ ।
नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका-१० मा रहेको ठूलो खहरे र सानो खहरेमा पुल निर्माणका लागि बनाईएको २ वटा डाईभर्सन र विनयी त्रिवेणी गाउँपालिकाको सिमानामा पर्ने खहरे खोलाको डाईभर्सन बगाएपछि बुधबार बिहानैदेखि महेन्द्र राजमार्ग अवरुद्ध बनेको छ ।
यस क्षेत्रमा मंगलबार साँझदेखि नै वर्षा भैरहेको छ । वर्षाका कारण खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बिहान ६ बजेदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि पश्चिमतर्फ जाने र पूर्वतर्फ आउने सवारीसाधनहरु ठप्प भएका छन् ।
पुनः डाइभर्सन बनाएर बाटो खुलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।
महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिमका लागि छुटेका सवारीसाधन नवलपरासीको दुम्कीबास, चोरमारा र कावासोतीको जंगलमा रोकिएका छन् ।
महेन्द्रराजमार्ग फराकिलो बनाउने क्रममा बनाइएका अस्थायी कच्चि सडक बगाउने जोखिम छ । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डका २ सय बढी स्थानमा डाइभर्सन बनाइएको छ ।




