भरतपुर, १५ असार ।
रातिदेखि नै देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।
पछिल्लो ३ घण्टा चितवनसहित काठमाडौं, कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही र आसपास धेरै स्थानमा ठूलो वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी स्थानमा थप वर्षा हुने सम्भावना भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ । तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कैलालीका कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । कान्द्रा नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विषेश सतर्कता अपनाउन भनिएको छ ।
रौतहटको गौर र आसपासको क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाका अनुरोध छ ।




