देवचुलीमा गुडिया कुशन बनाउने तालिम सम्पन्न

देवचुली, १३ असार ।
देवचुलीमा १५ दिनसम्म संचालित गुडिया कुशन बनाउने तालिम सम्पन्न भएको छ ।

देवचुली नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत गुडिया कुशन तालिम प्रदान गरिएको हो । देवचुलीमा मेड्पा कार्यक्रम अन्तर्गत सहभागी महिलाहरूको मागको आधारमा गुडिया कुशन निर्माण तालिम संचालन गरेको र महिलाहरुलाई सीप तथा ज्ञानमा वृद्धि गरि स्वरोजगार बनाउनुका साथै उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि तालिम प्रदान गरिएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताए । जेठ २९ गतेदेखि संचालन भएको तालिममा २० जना सहभागी रहेको सापकोटाले बताए ।

मेड्पा अन्तर्गत यस आर्थिक वर्षमा नयाँ लघु उद्यम सिर्जनातर्फ देवचुली- ७ मा सिलाई कटाई तथा ब्युटीपार्लर तालिम, देवचुली- ८ मा बङ्गुर बाख्रापालन तालिम, देवचुली- ९ मा चुरा पोते झुम्का बनाउने तालिम र देवचुली-१६ मा चप्पल बनाउने तालिम प्रदान गरिएको हो । त्यस्तै स्तरउन्नतितर्फ देवचुली- २ मा चुरा पोते झुम्का निर्माण तालिम, देवचुली ५ र १७ मा गुडिया कुशन बनाउने तालिम प्रदान गरिएको हो । नयाँ लघु उद्यम सिर्जना अन्तर्गत १०० जना सहभागी भएका थिए भने स्तर उन्नतितर्फ ४० जना सहभागी रहेको सापकोटाले बताए ।

समापन कार्यक्रममा बोल्दै सहभागी निरा पौडेलले नगरपालिकाले आयोजना गरेको कार्यक्रम आफुहरुका लागि निकै उपलब्धिमूलक रहेको र प्राप्त गरेको सीपको सही प्रयोग गर्ने बताइन् । त्यस्तै सहभागी हरिकला पुरीले आफ्नो समूहले माग गरेको तालिम ढिलो हुँदा हुँदैन कि भन्ने लागेको थियो तर सहभागी हुने अवसरसँगै सीप प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिए । पुरीका अनुसार सहभागीहरु तालिममा १५ दिनसम्म नियमित सहभागी भई सबैले गुडिया, कुशनहरु राम्रोसँग बनाउन सक्ने भएको र आफूहरुले बनाएका सामग्रीहरु बजारमा बिक्री गर्ने गरि योजना बनाएका छन् ।

देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले तालिममा सिकेका सीपहरुलाई उपयोग गरि स्वरोजगार बन्न सकिने हुँदा व्यावसायिक रुपमा काम गर्न सहभागीहरुलाई आग्रह गरे । आगामी दिनमा सहभागीहरु निरन्तर रुपमा सक्रिय हुँदै काम गर्न र आवश्यक सीपका लागि नगरपालिकालाई माग गर्दा नगरको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । देवचुली- १७ का १९ महिलाहरुलाई १५ दिनसम्म डल कुशन बनाउने सीपका बारेमा तालिमको प्रशिक्षक सुनिता बिकले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै सहभागी मध्ये मागका आधारमा ९ जनालाई कपडा सिलाउने मेसिन समेत हस्तान्तरण गरिएको थियो ।

देवचुली नगरपालिका वडा नम्बर- १७ का अध्यक्ष गणेश शर्मा चालिसेको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटा, लेखा अधिकृत विनोद अर्याल, देवचुली नगरपालिका वडा- १७ कि वडा सचिव ईश्वरी चालिसे, मेड्पा उद्यम विकास सहजकर्ता संगीता खड्कालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता जितबहादुर बिकले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट