भरतपुर, १९ जेठ ।
चितवनमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भित्रिन नदिन सचेतना अपनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले संक्रमण फैलिन नदिन बंगुर तथा सुंगुरपालक किसानहरुलाई स्वाइन फिभरबारे सचेत रहन आग्रह गरेको छ ।
बिहीबार जैविक सुरक्षा तथा एण्टीबायोटिक रेसिड्यु सम्बन्धि सचेतना गोष्ठी गर्दै स्वाइन फिभर भित्रिन नदिन उच्च सावधानि अपनाउन किसानहरुलाई आग्रह गरिएको छ । बर्डफ्लुले जस्तै खोरनै रित्याउने भएकाले किसानहरुलाई सावधानी अपनाउन जैविक सुरक्षामा ख्याल गर्न अनुरोध गरिएको छ ।
विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीले पशु फार्महरूमा सरसफाइ र स्वस्थ आहारामाथि विशेष ख्याल गर्न आग्रह गरे । “बंगुर तथा सुंगुरका पाठापाठी ओसारपसारमा विशेष ख्याल गर्न जरुरी छ”, उनले भने, “संक्रमित बंगुरहरूले महिनौंसम्म रोगको वाहक बन्ने भएकाले बेलैमा रोग पहिचान गर्नुपर्छ ।” स्वाइन फिभर संक्रमण पुष्टि भएका बंगुरहरुलाई नष्ट गरेर फैलिनबाट जोगाउनुपर्ने बताए । चितवनमा अफ्रिकन स्वाइन फिभर नभित्रिएपनि संक्रमणको जोखिम कायमै रहेको उनले बताए ।
राष्ट्रिय पंक्षी रोग अन्वेशषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक चेतनारायण खरेलले कुनै खोप वा निश्चित औषधि उपलब्ध नभएकाले उच्च सावधानी अपनाउनुपर्ने बताए । “संक्रमण फैलिए खोरनै रित्तिने जोखिम हुन्छ”, उनले भने, “मानिसमा नसरे पनि खोरका बंगुरहरु जोगाउन कठिन हुनेभएकाले बेलैमा सतर्क हुनु जरुरी छ ।” अफ्रिकन स्वाइन फिभर’ सबैभन्दा पहिले सन् १९२१ मा अफ्रिकाको केन्यामा देखिएको थियो । नेपालमा पहिलो पटक यही जेठ २ गते काठ्माण्डौको कागेश्वरीमा देखिएको थियो । काठमाडौं उपत्यकामा हालसम्म १ हजार बढी बंगुर तथा सुंगुरहरु संक्रमणका कारण मरेका छन् । पशु विकास अधिकृत रामचन्द्र आचार्यले स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्ने भएकाले संक्रमणको जोखिम बढी हुने बताए । उच्च ज्वरो आउने, बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना अरुची हुने, पखला लाग्ने, हिडडुल गर्न नसक्ने जस्ता लक्षण देखिएका बंगुर तथा सुंगुरहरुको बेलैमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरे । शंका लागेका पशुलाई बथानबाट अलग्गै राख्न उनको सुझाव छ ।
चितवनमा १६ हजार ८ सय ५८ वटा बंगुर तथा सुंगरहरु रहेको अनुमान छ । नेपालमा १५ लाख १९ हजार ५ सय ९३ बंगुरतथा सुंगरहरु रहेको अनुमान छ ।
जसमध्ये बामगती प्रदेशमा १ लाख ७२ हजार २ सय ७७ वटा रहेको अनुमान छ । नेपालमा वार्षिक २९ हजार ४ सय ९३ मेट्रिक टन बंगुर तथा सुगुरको मासु उत्पादन हुने अनुमान छ । भरतपुर महानगर क्षेत्रमा मात्रै २१ वटा फर्महरुले बंगुर तथा सुंगुरका पाठापाठी उत्पादन गर्दै विक्रिवितरण गर्ने गर्छन् ।





