प्युठान, ११ वैशाख ।
साहित्य परिषद् प्युठानको नवौं अधिवेशन सम्पन्न भएको छ । प्युठानको विजुवारमा आयोजित अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन गर्यो ।
सोही अवसरमा समालोचक प्रमोद प्रधानद्वारा लिखित “विजयराज आचार्यका बालकृतिहरूको अध्ययन” समालोचनाग्रन्थको विमोचन गरिएको छ । विजयराज आचार्यका बालसखाहरु प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्य र दाङवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यसहित नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राडा गोपीन्द्र पौडेल, प्युठान नगरपालिकाका मेयर अशोककुमार कक्षपति लगायतले विमोचन गरेका हुन् ।
समालोचक प्रमोद प्रधानको बालसाहित्य समालोचनाको यो छैटौं कृति हो । सो कृतिको समीक्षा गर्दै लेखक टोपाराम आचार्यले कृति अत्यन्त महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा प्युठानबाट राष्ट्रिय रूपमा योगदान पुर्याउने नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राडा गोपीन्द्र पौडेल, साहित्यकार पद्मप्रसाद शर्मा र भूपेन्द्र सुवेदीलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा प्राडा पौडेलले प्युठानको नेपाली साहित्यमा विशिष्ट योगदान भएको बताए । उनले साहित्य परिषद्मार्फत रू. १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
बालसाहित्यकार विजयराज आचार्यले प्युठानले धेरै विशिष्ट लेखकहरू जन्माएको बताउँदै सबै प्युठानी साहित्यकारहरू सहभागी हुनेगरी बृहत् साहित्य सम्मेलनको आयोजनाको आवश्यकता औंल्याए ।
साहित्य परिषद् प्युठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमोद प्रधान, युवराज भण्डारी र विमला खनालले कविता पाठ गरेका थिए । सोही अवसरमा नारायण पाण्डेद्वारा लिखित आरोग्य दर्पण पुस्तकको समेत विमोचन गरियको थियो ।





