भरतपुर, १० वैशाख ।
भरतपुरको मेयर नपाएपछि असन्तुष्ट बनेको कांग्रेसको एक समूहले शनिबार मेयरमा उम्मेदवारी घोषणा गर्ने भने पनि अन्ततः कार्यक्रम स्थगित गरेको छ ।
शनिबार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको कांग्रेस असन्तुष्ट समूहको भेलाले आइतबार दिउँसोसम्ममा उम्मेदबार घोषणा गर्ने मौखिक निर्णयचाहिँ गरेको छ ।
शनिबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला तथा निवर्तमान जिल्ला अध्यक्ष जितनारायण श्रेष्ठलगायतका नेताहरू उक्त भेलामा अनुपस्थित रहेपछि उम्मेदवार घोषणा कार्यक्रम स्थगित गर्न नेता तथा कार्यकर्ता बाध्य भएका हुन् ।
शुक्रबारको बैठकमा केन्द्रीय सदस्यसहितको निर्णयअनुसार शनिबार कांग्रेसका तर्फबाट भरतपुरको मेयरमा उमेदवार घोषणा गर्ने कार्यक्रम तय भएको थियो ।
१ बजे गर्ने भनिएको भेला कांग्रेसका कन्द्रीय नेता नआएपछि करिब साढे २ बजे मात्र सुरु गरियो । शुक्रबारसम्म गठबन्धनको बिरोध गर्ने केन्द्रीय नेताहरू शनिबार एकाएक भेलामा अनुपस्थित भएपछि गठबन्धनको विपक्षमा लागेका कार्यकर्ताहरू अलमलमा परेका थिए ।
उनीहरूले केन्द्रीय नेताहरूले आफूहरूलाई छाड्दै गठबन्धनकै पक्षमा समर्थन जनाएको हो कि भनेर आशङ्कासमेत गरिरहेका थिए । सो भेलालाई सम्बोधन गर्दै पूर्वसांसद जगन्नाथ पौडेलले प्रत्येक निर्वाचनमा अन्य पार्टीसँग गठबन्धन गर्दै जाँदा अबको ५ वर्षमा कांग्रेस शून्यमा पुग्ने बताए । उनले भने, “वर्षभरि कांग्रेस भनेर हिँड्ने चुनाव आएपछि अन्य पार्टीको चिह्नमा जबरजस्ती मत हाल्न लगाउने केन्द्रको निर्णयले पार्टी कहिले उँभो लाग्ला ?’
अघिल्लो दिनसम्म उम्मेदवारी कांग्रेसकै हुनुपर्छ भनेर बैठक र भेलामा उपस्थित केन्द्रीय सदस्य एकाएक अनुपस्थित हुँदा सबै कार्यकर्ताहरू आश्चर्यमा परेको उनको भनाइ थियो । “हिजोसम्म सँगै रहेका केन्द्रीय सदस्य आज हराएका छन् । तपाईंहरूले उहाँहरूलाई सोध्नुहोस् कांग्रेसको उम्मेदवार को हो भनेर”, उनले आक्रोस पोखे ।
भरतपुरमा कांग्रेसको तर्फबाट मेयरको आंकाक्षीसमेत रहेकी महाधिवेशन प्रतिनिधि मीना खरेलले गठबन्धनलाई विचलित गराउने नभई पार्टीको आस्था सिद्धान्तअनुसार यो खालको कदम उठाउन बाध्य भएको बताउँछिन् । कांग्रेसले कांग्रेसकै चिह्नमा मत हाल्न पाउनुपर्ने नैसर्गिक अधिकार रहेको उनको भनाइ छ । उनले भनिन्, “कांगे्रसको चुनाव चिह्न रुख लिएर जो मैदानमा उत्रन्छ उसैलाई यो त्यो नभनी मत हाल्नेछु । यदि त्यसरी मत हाल्दा पार्टीले जुनसुकै कारबाही गरे पनि म भोग्न तयार छु । मलाई पहिला कारबाही गरोस् ।”
भेलामा बोल्दै तरुण दल जिल्लाका संस्थापक अध्यक्ष शम्भु अर्यालले अहिले भइरहेको जुन भेला छ यसलाई विद्रोहको रुपमा नलिन आग्रह गरे । उनले भने, “पार्टीमा पुनः यस्तो गल्ती नदोहोरियोस् भनेर हदैसम्मको निर्णय गर्नुपर्ने अवस्था केन्द्रको निर्णयले बनाएको हो ।”
पार्टीका पूर्व प्रवक्ता उद्धव लोहनीले गठबन्धनमा जानुपर्ने बाध्यता कसले बनायो भनेर चितवन कांग्रेसले खोज्नुपर्ने अवस्था आएको बताए । कांग्रेसको विधानमा कांग्रेस भएर कांग्रेसको चुनाव चिह्नमा मतदान नगरे पार्टीबाट निष्कासन गरिनेछ भनेर बताइएको अवस्थामा भरतपुरमा सबै कांग्रेसीले माओवादीलाई मत हाल्दा कांग्रेसको कानुन कुन अवस्थामा पुग्ला भनेर सोच्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।





