भरतपुर, ९ वैशाख
भरतपुर महानगरपालिका वडा नं – ४, धर्मपथ, लंकूमा स्थानीयको गोठमा आगोलागी हुँदा भण्डारण गरी राखिएको खाद्यान्न जलेर नष्ट भएको छ । स्थानीय परमानन्द सापकोटाको गोठमा शुक्रबार साँझ आगोलागी भएको हो ।
आगोलागीपछि गोठमा पूर्ण रूपले क्षति पुगेको छ । भण्डारण गरी राखिएको करिब १५ क्विन्टल धान, २ क्विन्टल गहुँ र ३ क्विन्टल मकै पनि नष्ट हुन पुगेको प्रहरीले जनाएको छ । गोठमा रहेको एउटा गाई र एउटा बाच्छी भने सकुशल रहेको घरधनीले जानकारी दिए ।
आगोलागीका कारण कूल ९ लाख रुपैयाँ बराबरको क्षति पुगेको हुनसक्ने घरधनीले बताएका छन् । आगोलागी हुँदा मेघ गर्जन सहित वर्षा भइरहेकाले चट्याङकै कारण गोठमा आगो सल्किएको हुनसक्ने प्रत्यक्षदर्शीले अनुमान गरेका छन् ।
साँझ करिब ४:३५ बजेतिर सुरु भएको आगोलागी करिब ५ बजे नियन्त्रणमा आएको थियो । आगो निभाउन भरतपुर महानगरपालिकाका दुई दमकलसँगै स्थानीय पनि खटिएका थिए ।







