प्रहरी स्कुलमा किताबको चर्चा

भरतपुर, ५ वैशाख ।
भरतपुरस्थित जुनियर अधिकृत प्रहरी शिक्षालयमा साहित्य महोत्सव गरिएको छ । शिक्षालयको आयोजनामा आइतबार साँझ शिक्षालय परिसरमा भएको कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै पुस्तक अध्ययनका बिसयमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई तीन चरणमा बाँडिएको थियो । पहिलो चरणमा शिक्षालयकी प्रहरी निरीक्षक रिता पौडेल र पुस्तक अध्येता नवीन तिवारी छलफलमा सहभागी बने । दुबैजनासँग प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले पठन संस्कृतिका सन्दर्भमा रहेर छलफल गरे । प्रहरी निरीक्षक पौडेलले नेपाल प्रहरीमा पुस्तक पढ्ने संस्कृतिको विकास नभैसकेको धारणा राखिन् । `लोकसेवाको तयारी गर्दा आवश्यक किताबहरू जबर्जस्ती पढिन्छ´ पौडेलले भनिन् – `लोकसेवा पास गरेर नाम निकालिसकेपछि पढ्ने कुरामा बिराम लगाइन्छ । तर स्वअध्ययन मानव जीवनको महत्त्वपूर्ण आवश्यकता हो । हामीले
किताब पढ्ने बानी बसाल्यौँ भने सहज जीवनयापनमा सहयोग पुग्दछ ।´ बिगत ५ वर्षदेखि आफू प्रहरी सेवामा रहेको र यहाँ आइसकेपछि केही पढ्ने व्यक्तिहरूसँगको संगतले आफूले पनि पढ्न थालेको पौडेलले बताइन् । अर्का वक्ता नवीन तिवारीले पुस्तक पढ्ने बानीले मानिसले देश तथा बिदेशका सबै क्षेत्रका बारेमा सजिलोसँग जानकारी लिन सक्ने र कहिँ कतै त्यसबारेमा बोल्न सक्ने क्षमता राख्ने बानीको विकास हुने बताए ।

दोस्रो चरणमा लेखक सुजित मैनाली सोही मञ्चमा देखिए । लेखक मैनालीसँग प्रहरी उपरीक्षक मल्लले किताब किन पढ्ने, कस्ता किताब पढ्ने बिसयमा रहेर कुराकानी गरे । विश्वमा बच्चालाई भ्रुण देखि नै अथवा आमाको गर्भ देखि नै कस्ता किताब पढाउने भन्ने सन्दर्भमा त्यस किसिमको बहस र प्रयोग पनि भैसकेको अवस्था आइसकेको तर नेपालमा पढ्न सक्ने उमेर समूहले पनि अझैसम्म किताब पढ्नुपर्छ भनेर धारणा बनाउन नसकेको अवस्था रहेको मैनालीले बताए ।

तेस्रो चरणमा उज्ज्वल प्रसाईंसँग कुराकानी गर्न प्रहरी उपरीक्षक मल्ल नै उपस्थित भए । प्रसाईंले प्रहरी वृत्तमा पनि पढ्ने वातावरण बढ्दै गएकोमा खुसी व्यक्त गरे । `प्रहरीले झन् धेरै पढ्नुपर्ने आवश्यकता छ´ प्रसाईंले भने – `पढ्ने बानीले लोकतान्त्रिक अभ्यास अनुसार कार्यसम्पादन गर्न गराउन पनि भूमिका खेल्दछ ।´ प्रसाईंले विश्व बजारमा किताबको अवस्था र त्यसले खेलेको भूमिकाका बारेमा पनि बताएका थिए ।

कार्यक्रममा तालिम केन्द्रका करिव १ हजार ५ सय प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षार्थीहरूले पुस्तक र पठन संस्कृतिका बिसयमा लिखित रूपमा राखेका जिज्ञासालाई पनि वक्ताहरूले सम्बोधन गरेका थिए । प्रशिक्षार्थीहरूलाई अहिल्यैदेखि नै किताबको महत्त्व बुझाउन सके उनीहरू अध्ययनशील बन्न सक्ने बुझेर पठन संस्कृतिको विकास गराउन यो किसिमको कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक मल्लले बताए । पुलिस फोर्समा आयोजना गरिएको यो किसिमको कार्यक्रम संभवत पहिलो भएको पनि प्रहरी उपरीक्षक मल्लले दावी गरे ।

कार्यक्रममा सहभागीलाई शिक्षालयका बरिस्ठ प्रहरी उपरीक्षक (एसएसपी) पोषराज पोखरेलले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नवराज अधिकारी, बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख सुशीलसिंह राठौर, साहित्यकार एलबी क्षेत्री, उदय अधिकारीलगायतको उपस्थिति थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट