काठमाडौँ, ४ वैशाख ।
सुख्खायाममा लामो समयसम्म वर्षा नहुने र जंगलहरूमा डढेलो पनि अत्यधिक लाग्ने हुनाले त्यस समयमा नेपालका शहरी क्षेत्रमा वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ । देशको राजधानी रहेको काठमाडौँ उपत्यकामा गएको चैत महिनामा वायुको गुणस्तर खस्किएर खतराको तहमा पुगेको थियो ।त्यस बेला नेपाल विश्वभरका सर्वाधिक खराब वायुको गुणस्तर भएका शहरहरूको सूचीमा पहिलो स्थानमा समेत परेको थियो । वायुको गुणस्तर तथा प्रदूषणको अवस्था मापन पर्ने स्वीस संस्था आईक्यू एयरले हरेक घण्टा तथा दिनका हिसाबमा शहरहरूको एयर क्वालिटी इण्डेक्स (वायुको गुणस्तर सूचकाङ्क) सार्वजनकि गर्छ । त्यस सूचीमा काठमाडौँको प्रदूषणको स्तरले अन्य देशका प्रदूषित भनिएका शहरलाई पनि पछि पारेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वायुको गुणस्तर सूचकाङ्क १०० भन्दा धेरै हुनुलाई हानिकारक मानिन्छ । पछिल्लो एक हप्ताको अवधिमा चैत १४ गते काठमाडौँको औसत एकूआई १७६ पुगेको थियो । हप्ताको पहिलो दिन चैत ११ गते उक्त सूचकाङ्क १३८ रहेकोमा हप्ताको अन्तिम दिन चैत १७ गते वायुको गुणस्तर १६४ रहेको छ ।
प्रदूषण बढाउन सहयोगी भूकिका खेल्ने पीएम२.५ र पीएम१० को उपस्थिति पनि उपत्यकामा पछिल्लो हप्तामा बढ्दै गएको देखिन्छ । पीएम२.५ ले २.५ माइक्रो मिटरभन्दा कम व्यास रहेका तथा पीएम१० ले १० माइक्रो मिटरभन्दा कम व्यास रहेको धुलाका कणलाई बुझाउँछ । यस्ता कण कति सूक्ष्म हुने भएकाले श्वासप्रश्वासका क्रममा मानिसको नाकबाट फोक्सो भई रगतका कोषिकासम्म पुग्ने जोखिम रहेको हुन्छ ।
विश्व स्वास्थ्य संगठनले ५ पीएम२.५ सम्मको वायु श्वासप्रश्वासका लागि उपयुक्त भएको भनेपनि काठमाडौँका नागरिकले हाल संगठनले सुझाएभन्दा १० गुण बढी प्रदूषित हावा निलिरहेका छन् । गएको चैत १४ गते मात्रै काठमाडौँको वायुमा पीएम२.५को उपस्थिति १०३ माइक्रो ग्राम प्रति घनमिटर पाइएको थियो । पीएम२.५ जस्ता प्रदूषणकारी कण मानिसको रगतसम्म पुग्दा कालान्तरमा विभिन्ँन खालका मुटु तथा नशाजन्य समस्या देखिने विभिन्न अनुसन्धानले देखाएका छन् । प्रदूषणकै कारण टाउको दुख्ने, रक्तचाप बढ्ने र आँखा, नाक तथा श्वासप्रश्वास सम्बन्धी समस्या देखिने जोखिम पनि रहेको हुन्छ ।
नागरिकको स्वास्थ्यलाई लिएर सरकार गम्भीर हुन आवश्यक
वातावरणीय समाचार संस्था दि इकोलोजिस्टका अनुसार नेपालमा मात्रै वार्षिक १०० जनाले वायु प्रदूषणका कारण अकालमा ज्यान गुमाउने गरेका छन् । काठमाडौँ उपत्यकामा पनि वार्षिक करिब २७ जनाले सोही कारणले ज्यान गुमाउने गरेको उसले जनाएको छ । पछिल्लो पटक सन् २०१९ मा देशभर ३७ हजार ३९९ र काठमाडौँमा ९ हजार ९४३ जनाले वायु प्रदूषणका कारण अकालमा ज्यान गुमाउन पुगेको तथ्याङ्कले पनि प्रदूषणले जनस्वास्थ्यमा पारेको प्रभावलाई बुझ्न सघाउँछ ।
वायुले मानिसको जीवनसँग सीधा सम्बन्ध राख्ने भएकाले वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा सबै जना गम्भीर बन्नुपर्ने विचार त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागकी प्राध्यापक डा. रेजिना मास्के राख्छिन् । “सवारी दुर्घटनामा एकदुई जनाले ज्यान गुमाएको खबरले पनि हामी एकदमै स्तब्द हुन्छौं । वायु प्रदूषणका कारण झन् नेपालमा वार्षिक सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन्”, प्राध्यापक मास्के भन्छिन्, “त्यसकारण पनि यो विषयमा सरकार र नागरिक सबै गम्भीर बन्न जरुरी छ ।”
वायु प्रदूषण अन्तर्राष्ट्रिय समस्या भएपनि त्यसको न्यूनीकरण स्थानीय रूपमा थाल्नुपर्ने उनको तर्क थियो । नेपालका सबै स्थानीय तहका सरकारहरूमा त्यस क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्ने एवं वायुको गुणस्तरलाई सुधार्ने जिम्मेवारी रहेको उनले प्रष्ट पारिन् । “कुनै पनि सानो क्षेत्रलाई केन्द्रले भन्दा स्थानीय सरकारले नजिकबाट बुझेको हुन्छ । त्यसकारण स्थानीय सरकारलाई काम गर्न पनि सजिलो हुन्छ”, उनी थप्छिन्, “ती स्थानीय सरकारले प्रदूषणको विषयलाई लिएर संवेदनशीलता देखाउने हो भने प्रदूषण न्यूनीकरण गर्न कत्ति पनि गाह्रो छैन ।”
कतिपय सरकारी आयोजनाहरू अनुसन्धानमा आधारित नहुने भएकाले पनि त्यसले वातावरणलाई नकारात्मक प्रभाव पार्ने गरेको उनले बताइन् । “सरकारी आयोजनाहरू सुरु गर्नुअघि खासै अध्ययन र अनुसन्धान नै गरिँदैनन् । मनपरी तरिकाले काम गरेपछि वातावरणलाई हानि त हुने भइहाल्यो नि”, प्रा.डा. मास्केले भनिन् ।
फोहोर जलाउनु वायु प्रदूषणको प्रमुख कारण

नेपालका शहरी क्षेत्रहरूमा फोहोरमैलाको व्यवस्थापन फितलो भएका कारण नै वायु प्रदूषण बढ्न पुगेको प्राध्यापक डा. रेजिना मास्के बताउँछिन् । घर, पसल, ग्यारेज, लगायतका स्थानबाट उत्सर्जित हुने फोहोरहरूलाई खुला ठाउँमा जलाउने कार्यले वायुमा कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइड जस्ता हानिकारक ग्यासको मात्रा बढाउने गरेको उनको तर्क थियो । “फोहोरलाई सुरक्षित तरिकाले कहाँ बिसर्जन गर्न सकिन्छ भन्ने योजना पालिकाहरूसँग छैन । त्यसले गर्दा पनि फोहोरमैला जलाउने कार्यलाई सघाएको छ”, उनले भनिन् ।
त्यसबाहेक सवारीसाधनको बढ्दो प्रयोग, वनजंगलमा लाग्ने डढेलो, खेतीपातीका लागि गरिने खोरियाको अभ्यास, आदिले पनि वायुमा प्रदूषणको मात्रा बढाउने गरेका छन् । सुख्खायामा रुखहरूका पात झर्ने हुँदा तिनलाई व्यवस्थापन गर्न आगो लगाउने गरिन्छ । त्यसले पनि वायुको गुणस्तरलाई क्षति पु¥याउने प्राध्यापक मास्केले बताइन् ।
शहरी इलाकाहरूमा सडक निर्माणमा ढिलाई तथा ट्राफिक जामका कारण पनि प्रदूषण बढेको उनी सुनाउँछिन् । “धुलाम्मे सडकहरूमा सवारीसाधनको ओहोरदोहोरले धुलोलाई झन् मसिनो बनाउँछ । धुलाका तिनै ससाना कण हावामा उड्छन् र तिनीहरू श्वासप्रश्वासका माध्यमबाट हाम्रो शरीरभित्र प्रवेश गर्छन्”, उनले बताइन् ।
“ट्राफिक जाम र भत्किएका सडकका कारण सवारीसाधन एकनासे गतिमा कुद्न नपाउँदा पनि कार्बन उत्सर्जनमा वृद्धि हुने गरेको छ ।सवारीसाधनको इञ्जिन पटकपटक बन्द गर्ने र स्टार्ट गर्ने गर्दा बढी इन्धन खपत हुन्छ जसले अझै बढी कार्बन उत्सर्जन गर्छ”, प्राध्यापक मास्केले भनिन् ।
काठमाडौँ उपत्यकामा भने भौगोलिक अवस्थाका कारण पनि प्रदूषणको जोखिम उच्च रहेको बताइन्छ । शहरलाई वरिपरिबाट पहाडले घेरेको हुँदा उपत्यकाभित्रको हावा बाहिर निस्कन नपाउँदा पनि काठमाडौँमा वायु प्रदूषण हुने गरेको प्राध्यापक मास्केले सुनाइन् ।
वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि जनस्तरदेखि नै अभियान चलाउनुपर्ने सुझाव प्राध्यापक मास्के दिन्छिन् । “सबैभन्दा सुरुमा म फोहोरजन्य सामग्री जलाउँदिनँ भन्ने प्रण गर्नुप¥यो । त्यसपछि नीतिनिर्माण र त्यसको कार्यान्वयन गराउने तहमा रहेका मानिसहरूपनि गम्भीर हुनुपर्यो”, मास्केले बताइन् ।





