भरतपुर, ४ वैशाख ।
राप्रपा नेपाल चितवनका अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ । भरतपुर महानगरपालिका-५ आनन्दपुरस्थित खरालको घरमा गएराती आक्रमण भएको राप्रपा नेपाल चितवनका उपाध्यक्ष आशिष भट्टराईले जानकारी दिए ।
खरालको घरमा तोडफोड गर्दा झ्यालका सिसा फुटेका छन् । अध्यक्ष खरालको घरमा भएको आक्रमणको उपाध्यक्ष भट्टराईले भर्त्सना गरेका छन् । स्थानीय प्रशासनले घटनाको तत्काल छानबिन गरी दोषी माथि कडा कारवाही गर्न उनले माग गरेका छन् ।
‘स्थानीय प्रशासनले घटनाको तत्काल छानविन गरी दोषी माथि कडाभन्दा कडा कारबाही गरोस् । राजनीतिक प्रतिशोधका कारण भएको भए त्यो झन् अक्षम्य छ’, उनले भने ।
घटनाको जानकारी आएपछि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरि अधिकारीले जानकारी दिए । ‘हामीले अनुसन्धान सुरु गरेका छौँ । शंकास्पद व्यक्तिहरू माथि निगरानी गरेका छौँ । तर अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरिएको छैन´, प्रवक्ता अधिकारीले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापन पक्षका जिल्ला नेता रहेका खराल पार्टी बिभाजनपछि कमल थापा पक्षको राप्रपा नेपालका जिल्ला अध्यक्ष बनेका हुन् ।




