भरतपुर, ४ वैशाख ।
नेपाल रग्वी संघ तथा चितवन रग्वी संघद्वारा आयोजित अन्डर- २० पुरुष तथा महिला रग्वी खेलको उपाधी पुरुषतर्फ काठमाडौं र महिलातर्फ धनगढीले हात पारेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ७, कृष्णपुरको खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा देशभरिका महिला तथा पुरुष गरि १० टिमले सहभागिता जनाएको चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलले जानकारी दिए ।
अत्यन्तै प्रतिस्पर्धामात्मक खेलमा पुरुषतर्फ गोर्खाली रग्वी क्लव काठमाडौं विजयी बनेको हो । फाईनल प्रतिस्पर्धामा मकवानपुरलाई पराजित गर्दै काठमाडौं बिजेता बनेको हो । त्यसैगरि महिलातर्फ बडिमालिका रग्वी क्लव धनगढीले उपाधी हासिल गरेको हो । हिमालयन टाईगर्स रग्वी क्लव काठमाडौंलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीको उपाधि गोर्खाली क्लबका रोशन डंगोल भए भने महिलातर्फको सर्वोत्कृष्ट खेलाडीको उपाधी बडिमालिका रग्बी संघकी अपना पौडेलले हात पारिन् ।
प्रतियोगिताको फेयर प्लेको उपाधि पुरुषतर्फ हिमालयन टाईगर्स रग्वी क्लव र महिलातर्फ चितवन वरियर्स भएका छन् । बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव एवम् कार्यक्रमका प्रमुख अतिथि सूर्यलाल भण्डारी, भरतपुर- ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, नेपाल रग्वी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सचिव गोविन्द घिमिरेले खेलाडीहरुलाई संयुक्तरूपमा ट्रफी, मेडल तथा मायाको चिनो प्रदान गरेको संघका जिल्ला उपाध्यक्ष गोबिन्द पौडेलले जानकारी दिए ।





