भरतपुर, २ वैशाख ।
राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताएका छन् । भरतपुरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै पाण्डेले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताए ।
“यो साल राष्ट्रवादीहरुको जित होस्, रोजगारी सृजना गर्दै स्वदेश फर्किने वातावरण बनोस्”, उनले भने, “फलानो पार्टी भनेर नलाग्नुस्, देश बचाउन लागौं ।”
एमसीसी चक्रव्युहले देशलाई अँध्यारो बनाउने षड्यन्त्र भैरहेको पनि पाण्डेले बताए । भ्रष्टाचार रहित देश बनाउन जनताले राप्रपालाई रोज्नुपर्ने उनले बताए ।
पञ्चायतकालको ३० वर्षमा खुलेका उद्योग, कलकारखानाहरु कौडिको मूल्यमा बेचेर भ्रष्टाचार भएको पाण्डेले बताए ।
“अब देशमै प्रयाप्त विद्युत उत्पादन गर्न नेपालीहरुलेनै हाइड्रोपावरमा लगानी गरौं”, उनले भने, “विश्वकै हाइटेक उद्योगहरु नेपालमा स्थापना हुनेछन्, रोजगारी सृजना हुनेछन् ।” पाण्डेले राप्रपाप्रति जनताको विश्वास बढेको पनि बताए ।





