भरतपुर, १ वैशाख ।
आजबाट विक्रम संवत् २०७९ साल सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन (वैशाख १ गते) देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
आजबाट सूर्य मेष राशिमा प्रवेश गर्छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराईले बताए । ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवतका विशेषतादेखि इस्वी संवतका व्यावहारिक गुण यसभित्र समावेश छ,’ उनले भने ।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको मानिन्छ ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १९ गतेदेखि नै सुरु भइसकेको छ । चैत १९ गतेदेखि नल नामको संवत्सर सुरु भएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।
आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।





