भरतपुर, ३० चैत ।
नेकपा(एमाले) र कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने भएको छ ।
वैशाख ३० गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको जानकारी ट्विटमार्फत् दिएका छन् ।
एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गर्न पाँच बुँदे सहमति भएको छ। उक्त सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सहमतिको पहिलो बुँदामा देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने उल्लेख छ । आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने, राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने विषय दोस्रो बुँदामा समावेश गरिएको छ ।
सहमतिको तेस्रो बुँदामा एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने उल्लेख छ ।
राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने र निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमा आवद्ध हुने चौथों बुँदामा समावेश छ ।
दुबै दलले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ ।





