भरतपुर, २७ चैत ।
नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयर पदको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ ।
आइतबार पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
भरतपुरको मेयरमा एमालेबाट पोलिटव्युरो सदस्य देवीप्रसाद ज्ञवाली र कृष्णभक्त पोखरेलको पनि चर्चा थियो । स्रोतका अनुसार ज्ञवालीले नै सुवेदीलाई मेयर पदको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।
सुवेदीलाई मेयरको उम्मेद्वार बनाउन पोलिटब्युरो सदस्य ज्ञवालीले प्रस्ताव र नेता पोखरेलले समर्थन गरेका थिए ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार थिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल हुँदा उनी झिनो मतान्तरले पराजित भएका थिए ।





