भरतपुर, २६ चैत
भीमबहादुर विकको हत्या आरोप लागेका दुई आरोपितका बारेमा चितवन अदालतले फैसला सुनाएको छ । न्यायाधीश गायत्री रेग्मीको इजलासले गरेको फैसलाअनुसार आरोपित सीताराम बस्नेतले सफाइ पाएका छन् भने अर्का आरोपित दिलीप श्रेष्ठलाई ६ महिना कैद सजाय तोकिएको अदालतका सूचना अधिकारी श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिए ।
आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा अन्ततः अदालतले भवितव्य ज्यानमा मुद्दा परिणत गराएको छ । प्रहरी हिरासतमा बसेको दिनदेखि कैद समय गणना हुने हुँदा चैत २८ गते ६ महिना पुग्ने देखिन्छ । हालसम्म दुवै आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
भरतपुर–४ स्थित दुर्गाचोकमा रहेको दुर्गा मन्दिरमा दसैँका बेला बोका चढाउने विषयमा ५८ वर्षीय भीमबहादुरले सोधखोज गर्दा गालीगलौच र कुटपिट भएको मृतकको परिवारको आरोप थियो । असोज २८ गते बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठले कुटपिट गरी हत्या गरेको भनी मृतकका छोरा किसान विकले प्रहरीमा जाहेरी दिएका थिए । आरोपितहरुलाई सोही दिन नै नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेकोमा कात्तिक २२ गते आरोपित दुवैजना पुर्पक्षका लागि थुनामा गएका थिए । अदालतमा आवेशप्रेरित हत्या भनी मुद्दा चलेको थियो । भीम विकको हत्या विशुद्ध आपराधिक घटना भएकोमा जातीयताको विषयलाई जबर्जस्ती स्थान दिइएको एक पक्षको भनाइ थियो भने जातीय कारणले नै हत्या भएको पीडित पक्षको दाबी छ ।
पोस्ट मार्टम रिपोर्टमा उल्लेख भएअनुसार हेड इन्जुरी अर्थात् टाउकोमा लागेको चोटका कारण खुलाइएको थियो ।
मृतकको परिवारले गृह मन्त्रालयबाट १० लाख रूपैयाँ राहत रकम पाएका छन् । राहत रकम र दोषीलाई कानुनी कारबाहीको माग गर्दै परिवारले भीमको शव बुझेको थिएन । घटना भएको तीन महिनापछि मात्र आफन्तले शव बुझेका थिए ।




