राप्ती, २५ चैत ।
नेकपा एमाले राप्ती नगरपालिका वडा नम्बर १, २, ४ र ६, नेपाल चेपाङ संघ जिल्ला समिति चितवन र आदिवासी जनजाति नगर समन्वय समिति राप्ती नगरपालिकाको संयुक्त आयोजनामा राप्तीका स्थानीयलाई घर हस्तान्तरण गरिएको छ ।
राप्ती नगरपालिकाका उपप्रमुख ईमानसिंह लामाले आफ्नो कार्यकालमा स्थानीयका लागि ६ वटा घर निर्माण गरेका थिए । स्थानीय विपन्न परिवारका लागि लामाले व्यक्तिगत आर्थिक सहयोगमा उक्त घर निर्माण गरिदिएका हुन् । लामाले स्थानीयलाई गरेको योगदानको कदर गर्दैै कार्यक्रममा आयोजक संस्थाहरुले उनलाई सम्मान पनि गरे ।
नेपाल सरकारले उपप्रमुखको हैसियतलाई प्रदान गरेको सेवा सुविधा तथा भत्ताको रकमबाट प्रत्येक वर्ष नगरभित्र रहेका अति विपन्न परिवार, असहाय तथा एकल महिलाको लागि लामाले घरहरु निर्माण गरेका थिए ।
२०७४ सालमा वडा नम्बर ४ कि एकल महिला मंगलीमाया चेपाङको घर, २०७५ सालमा वडा नम्बर ६ का अति विपन्न तथा अशक्त कुलमान चेपाङको घर, २०७६ सालमा वडा नम्बर ६ कि हिंसा पीडित बालिका अनुजा परियारको घर, २०७७ सालमा वडा नम्बर १ मा जङ्गली हात्तीले क्षती बनाएको झाँक्री बा भनेर चिनिने अमरबहादुर चेपाङको घर निर्माण गरिदिएका थिए ।
घरबारविहीन भएका जीवन चेपाङको लागि सम्पूर्ण खर्च व्यहोर्ने गरि आफैले घर निर्माण गरिदिएका थिए । त्यस्तै राप्ती नदीमा घुंगी र गंगटा खोज्ने क्रममा नेपाली सेनाको कुटपिटबाट मृत्यु भएका राप्ती २ का अति विपन्न मृतक राजकुमार चेपाङको परिवारको लागि घर निर्माण पनि गरिदिएका थिए । यसै कार्यक्रमको अवसर पारेर घरको चाबी मृतक चेपाङको बुबालाई हस्तान्तरण गरिएको छ ।
पूर्व गण्डकी प्रदेश प्रमुख तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सीता पौडेलको हातबाट लामा सम्मानित भएका हुन् । सम्मानपश्चात आफूले अझै काम गर्न बाँकी रहेको उनले बताए । दुखीहरुको सेवा गर्दा आफूलाई आनन्द मिल्ने पनि उनले बताएका छन् । “आगामी दिनमा म जनप्रतिनिधि भए या नभएता पनि सधैँ जनताको सेवामा लागिरहने छु ।” कार्यक्रममा बोल्दै उनले भने ।
आफूले बोकेको वैचारिक सिद्धान्तले पनि जनताको सेवा गर्नेमा नै जोड दिएको उनले बताए ।
उपप्रमुख लामा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । घर निर्माण सँगसँगै लकडाउनको बेलामा दीर्घरोगका बिरामीहरुलाई अस्पताल पुर्याउने र घर ल्याउने, खाद्यान्न सामग्री लिएर विपन्न परिवारको घरघर पुग्ने र नागरिकता बिहिनहरुलाई आफ्नै सनाखतमा नागरिकता दिलाउने जस्ता कार्यले उनलाई जनतामाझ प्रिय बनाएको छ ।




