`सत्यमोहन´’पुस्तकमाथि चितवनमा छलफल

भरतपुर, २० चैत ।
`सत्यमोहन शहर यात्रा´को क्रममा बिरगंज, हेटौंडा हुँदै शनिबार चितवन आइपुगेको बुकहिल पब्लिकेसन्सको टोलीसँग नारायणगढमा चितवनका पाठकले छलफल गरेका छन् ।

क्षेत्रपुरस्थित डिम्याण्डु क्याफेमा आयोजित कार्यक्रममा `सत्यमोहन´ पुस्तकका लेखक गिरीश गिरीले शताब्दी पुरुष सत्यमोहन जोशीसँग कुराकानीका आधारमा यो पुस्तक लेखिएको बताए । `उहाँ खुरुखुरु बोल्नु भयो, उहाँका अनुभव, अनुभूति र भोगाइलाई हामीले रेकर्ड गर्‍यौँ´ गिरीले भने – `उहाँले बोलेका कुरालाई अक्षरमा बुनेर यो पुस्तक लेखिएको हो । राणाकालका कतिपय प्रसङ्ग पनि यसमा समेटिएका छन्, यो पुस्तक उहाँको जीवनी हो ।´

समीक्षक उदय अधिकारीले पनि पुस्तकका सन्दर्भमा आफ्नो टिप्पणी राख्दै सत्यमोहन सबै बर्गका पाठकका लागि उपयोगी हुने बताए । `यो एउटा ऐतिहासिक महत्त्वको पुस्तक हो, पाठकले अहिलेसम्म थाहा नपाएका तथ्यगत कुराहरू पुस्तकमा छन्´ अधिकारीले भने । अर्का समीक्षक ईश्वर कँडेलले यो पुस्तक हरेक घरमा हुनुपर्ने र सबैले पढ्नुपर्ने किताब भएको बताए ।

पुस्तकका बारेमा बोल्दै लेखक कुमार नगरकोटीले पुस्तक अत्यन्तै प्रेम एवम् आत्मीयपूर्वक लेखिएको बताए । नगरकोटीले भने ‘उहाँलाई भेट्दा र बोल्दा म कहिल्यै उहाँको नजिक हुन सकिन, तर यो किताब पढेपछि उहाँ मेरो आदर्श हुनुभयो ।´ अर्का टिप्पणीकार एलबी क्षेत्रीले यो पुस्तकले उहाँको जीवनीलाई पूर्ण रुपमा न्याय गरेको बताए । बुकहिल पब्लिकेसन्सका प्रबन्ध निर्देशक भुपेन्द्र खड्काले शताब्दी पुरुष र त्यसमाथि देशको इतिहास बोकेको पुस्तक आफ्नो प्रकाशन गृहबाट प्रकाशन भएकोमा खुशी व्यक्त गरे ।

लेखक गिरीले सत्यमोहनको जीवनी भएपनि पुस्तकमा समग्र नेपालको इतिहास समेटिएको बताए । १ शताब्दी उमेर पूरा हुँदा पनि देश र देशवासीका लागि चिन्तन गर्ने व्यक्तिको कथालाई पुस्तकमा उतार्ने सौभाग्य प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै गिरीले भने, ‘देशको भाषा, संस्कृति एवम् रहसहनसम्बन्धमा मात्रै नभएर कलादेखि हरेक क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । पुस्तकले उहाँको अनुभव नयाँ पुस्तासम्म पुर्‍याउन पुलको काम गर्नेमा म विश्वस्त छु ।’

छलफल कार्यक्रमअघि लेखक गिरीश गिरी र कुमार नगरकोटीसहितको टोली नारायणगढस्थित सम्पूर्ण किताबमा बसेर पाठकसँग कुराकानी गर्दै पुस्तक हस्ताक्षरमा सहभागी भएका थिए ।

बुक हिल पब्लिकेसन्सबाट प्रकाशित पुस्तकको मूल्य ५९९/- रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट