भरतपुर, १३ चैत
साहित्य सिर्जना आफैमा सजिलो काम होइन । जीवनमा विभिन्न अनुभवले खारिएका व्यक्तिहरुले समेत साहित्य सिर्जनामार्फत् मनको भाव व्यक्त गर्न सक्दैनन् । विद्यालयमा अध्ययन गरिरहेका स्कुले नानीबाबुहरुले सिर्जनामा मनका भावना व्यक्त गर्नु आफैमा प्रशंसनीय काम हो । यस्तै प्रशंसनीय काममा आफूलाई अग्रसर बनाएका स्कुले बालबालिकाले अभिभावकलाई समेत दंग पार्दै आफ्ना भावना पस्केका छन् ।
भरतपुर महानगरपालिका–१० मा रहेको अर्किड स्कुलमा कक्षा ६ मा पढ्ने समृद्धि पौडेलले शनिबार बिहान विद्यालय प्रांगणमा आयोजना गरिएको सिर्जनावाचन कार्यक्रममा सहभागी भएर आमा महिमा सुनाएकी हुन् । समृद्धिले ‘आमा’ शीर्षकमा आफ्ना शिक्षक र विद्यार्थी साथीहरूलाई आमाको बारेमा लेखिएको चिनारी सुनाएकी थिइन् ।
समृद्धिले आमा बिहान सबेरै उठ्नु हुन्छ, घर सफा गर्नुहुन्छ, पानी भर्नुहुन्छ, खाजा र खाना बनाउनु हुन्छ, गृहकार्य हेरिदिनु हुन्छ, लुगा तयार गरिदिनुहुन्छ अनि मलाई स्कुल पठाउनु हुन्छ भनेर आमाले गर्ने सम्पूर्ण कामको जिम्मेवारीलाई निबन्धको रूपमा प्रस्तुत गरेकी हुन् । समृद्धिले कार्यक्रममा आमाको महिमा सुनाइरहँदा कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी र अभिभावकले चाख मानेर सुनिरहेका थिए ।
रचना सुन्न अधिकांश विद्यार्थीले आफ्ना अभिभावक पनि साथै लिएर आएका थिए । समृद्धिकी आमा मुना पौडेल पनि छोरीको रचना सुनेर प्रफुल्ल देखिइन् । ‘घरमा अघिल्लो साँझ सिर्जना गरेकी नानीले स्कुलमा आएर निर्धक्कसँग सुनाइन्, म खुसी भएँ’, मुनाले भनिन्, ‘छोरीलाई सिर्जनात्मक रुचि बढेकोमा हामीलाई पनि गर्व लागेको छ । उनको सिर्जनात्मक रुचिमा हामीले साथ दिनेछौँ ।’
अर्किड स्कुलले अतिरिक्त क्रियाकलाप अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो । साहित्य सिर्जनासँग सम्बन्धित कार्यक्रमलाई ‘कफी हाउस’को नाम दिएर विद्यालयमा पहिलोपटक यो किसिमको कार्यक्रम आयोजना गरिएको विद्यालयका सहप्राचार्य ओमराज मैनालीले बताए । ‘यस कार्यक्रमलाई पठन संस्कृतिसँग जोडेर निरन्तरता दिने सोच छ’, मैनालीले भने, ‘अग्रज स्रस्टालाई विद्यार्थीका माझ अतिथिका रूपमा सहभागी गराई कफीको स्वादमा साहित्य सिर्जनालाई प्रस्तुत गराउने योजना हो ।’
कार्यक्रमको पहिलो शृंखलामा कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । दुई वटा कक्षा गरेर कुल ३५ जना विद्यार्थीले सिर्जना गरेका साहित्यिक रचनाहरुलाई हस्तलिखित पुस्तकको रुपमा प्रस्तुत गरी सोही पुस्तकबाट उनीहरूलाई कविता, कथा, यात्रासंस्मरण आदि वाचन गर्न लगाइएको थियो ।
कार्यक्रममा रचनावाचनका लागि सहभागी भएका अधिकांशले ‘आमा’ शीर्षकमा लेखिएका कविता, निबन्ध र संस्मरण सुनाए । केहीले नेपालीमै सुनाए भने केहीले अंग्रेजीमा लेखेर सुनाएका थिए । आमाकै महिमा सुनाउनेमा कक्षा ६ बाट उपासना कँडेल, सम्पदा कार्की, अनुशिया पौडेल, रोयश कार्की र अर्पणा केसी थिए । कक्षा ७ का एण्डी गिरी, आरभ मानन्धर र अर्पित पौडेलले पनि आमा शीर्षकमै कविता प्रस्तुत गरे । आमा शीर्षकमा रचना गरेका विद्यार्थीले आमाले गर्ने मायालाई आफ्ना सिर्जनामा विभिन्न ढंगले प्रस्तुत गरेका थिए ।
कतै घुम्न जाँदाको सन्दर्भलाई यात्रा संस्मरणको रूपमा तयार गरेको संस्मरण सामग्री कक्षा ७ का विद्यार्थीले प्रस्तुत गरे । अरविना न्यौपानेले गोर्खा, सन्ध्या मरासिनीले पोखरा र विभु पण्डितले पनि विभिन्न स्थानको वर्णन प्रस्तुत गरेका थिए ।
सिर्जनावाचनकै क्रममा कक्षा ६ की रिम्सा कर्णले महिलाहिंसा बारेमा लेखिएको कविता सुनाइन् । समाजमा अहिले पनि महिलाहिंसा नघटेको र महिलाहिंसालाई निर्मुल गर्न समाजमा, टोलमा यस सम्बन्धी चेतना जगाउन आवश्यक रहेको सन्देश उनको कवितामा थियो ।
कक्षा ६ बाटै रुविशा वाग्लेले `फूल´ शीर्षकमा कविता सुनाइन् । वर्षा घलेले पनि आफ्नै बारेमा लेखिएको सिर्जना प्रस्तुत गरिन् । एन्जल खरेल र युना अधिकारीले आफ्नो देशका बारेमा लेखिएको सिर्जना प्रस्तुत गरे । दुबै जनाले आफ्ना सिर्जनामा देशको सुन्दरतालाई वर्णन गरेका थिए । त्यस्तै ओसन पहारी र एन्जल न्यौपानेले आफ्ना बुबाका बारेमा लेखिएको सिर्जना प्रस्तुत गरे ।
गुरुको महिमालाई पनि केही विद्यार्थीले सिर्जनामार्फत प्रस्तुत गरेका थिए । कक्षा ६ का आर्यन्शु अधिकारी, कक्षा ७ का सिम्रिका सुवेदी र सुधा चौधरीले गुरुका बारेमा लेखिएका सिर्जना प्रस्तुत गरे । कक्षा ७ की विपना कँडेलले जुम्ल्याहा दिदीबहिनीका बारेमा लेखिएको सिर्जना सुनाइन् । स्कुल जानुपर्छ भन्ने सन्देशमुलक कविता कक्षा ७ का मिलन शर्माले प्रस्तुत गरे । कक्षा ७ कै सर्जु थापाले `कहाँ गयो हाम्रो अधिकार ?´ शीर्षकमा कविता सुनाइन् भने सौगात भट्टराईले `जीवन´ शीर्षकमा कविता सुनाए । तपस्या कुँवरले `मेरो गाउँ´ शीर्षकमा गाउँको सुन्दरतालाई सिर्जनामा सजाइन् । कवितामार्फत नै शुभम पौडेलले फूलबारीको वर्णन गरे भने अंगराज बिष्टले `साथीको सहयोग´ शीर्षकमा कविता सुनाए । कृष्मा ढकालले आफ्नो बाल्यकाललाई सिर्जनामा ढालिन् भने साइजा पोखरेलले `माया´ शीर्षकमा कविता सुनाइन् । अद्रीता थापा र स्नेहा आचार्यले कविता, गरिमा चौधरीले कथा प्रस्तुत गरे । कक्षा ६ की इशिता कोइरालाले `मित्रता´ शीर्षकको सिर्जना सुनाइन् । उनको सिर्जनामा मित्रता स्वार्थरहित हुनुपर्छ भन्ने सन्देश थियो ।
स्कुलका प्राचार्य डा. खेम आचार्यको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । विद्यार्थीलाई सिर्जनशील बनाउन `कफी हाउस´ र अन्य समीक्षात्मक कार्यक्रमहरू गराइरहने आचार्यले बताए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी उपस्थित थिए । विनोदीले कार्यक्रममा सहभागी भएर बालसिर्जना सुन्दा आनन्द लागेको प्रतिक्रिया दिए । ‘अधिकांश विद्यार्थीले आमालाई सम्बोधन गरेर सिर्जना गरेका छन्’ विनोदीले भने, ‘संसारमा सबैले बोल्ने पहिलो शब्द मा हो, मा भनेकी आमा हुन्, त्यसकारण सबैले सिर्जनामा आमालाई पूजा गरेका हुन्छन् ।´
कार्यक्रममा उपस्थित भएका अर्का साहित्यकार ईश्वर कँडेलले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी भैरहन प्रोत्साहन गरे । उनले डिजिटल माध्यम साहित्य सिर्जना र अध्ययनका लागि उपयोगी हुने भएकोले यसको सदुपयोग गर्न विद्यार्थीलाई अनुरोध गरे । कवि सिर्जन अविरलले विद्यार्थीलाई नियमितरूपमा पुस्तक पढ्न र बाहिरी संसारको ज्ञान लिन आग्रह गरे ।
विद्यालय संचालक समितिका अध्यक्ष गोपाल पराजुलीले आमा सिर्जनाको मुहान भएकी र बाबुनानीको रेखदेखमा आमाकै भूमिका रहने भएकोले अधिकांश विद्यार्थीले आमा शीर्षकमा रचना गरेको हुनसक्ने बताए ।
कार्यक्रममा नवोदय स्कुल हेटौंडाका संयोजक अव्यक्त खनाल, संचारकर्मी मनोज पन्त, पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटा, स्कुलकी नेपाली विभाग प्रमुख भगवती ढकाललगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमका संयोजक आधारभूत तह प्रमुख हरि सापकोटा र सहसंयोजकमा शिक्षिका मीरा आचार्य रहेका थिए ।





