काठमाडौं, १३ चैत ।
नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग नेपालले बन्द रहेका नेपाल चीन नाका सुचारु गर्न आग्रह गरेको गरेको छ ।
चिनियाँ परराष्ट्रमन्त्री यीसँगको दुईपक्षीय छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले यस्तो बताएका हुन् ।
यस्तै नेपालका परराष्ट्रमन्त्री खड्का र उनका चिनियाँ समकक्षी वाङबीच छलफलमा विभिन्न ७ विषयमा ९ सम्झौता भएका छन् । जसमा केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनका लागि प्राविधि सहायता योजनालगायत विषय समावेश छन् ।
दुई देशका परराष्ट्रमन्त्रीबीच भएको छलफलमा नेपालबाट निर्यात हुने समानमा ९८ प्रतिशत भन्सार छुट दिन चीन सहमत भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा पनि दुई देशका परराष्ट्रमन्त्री बीच सम्झौता भएको स्रोतको दाबी छ ।
यसका साथै नेपाल चीन विद्युत प्रशारण लाइन सम्भाव्यता अध्ययन, चितवनमा चिनियाँ लगानीमा उत्पादित घाँसलाई चीन निर्यात गर्न आवश्यक पर्ने कानूनी प्रक्रियाका विषयमा पनि सम्झौता भएको छ ।
अरनिको राजमार्ग मर्मत सम्भारका विषयमा पनि शनिबारको भेटवार्तामा सहमति भएको छ । नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली नेपाल पठाउने विषयमा पनि सम्झौता भएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले चीन सरकार र चिनियाँ एक्सिम बैंकले संयुक्त रुपमा निर्माण गरेको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेका छन् ।
९३ प्रतिशत काम सम्पन्न भएको उक्त विमानस्थल चिनियाँ परराष्ट्मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। प्रधानमन्त्री देउवाको उपस्थितिमा चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपालका परराष्ट्रमन्त्री खड्कालाई विमानस्थल हस्तान्तरण गरेका हुन् ।





