गैँडाकोट, ८ चैत ।
गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यहाँ कार्यरत छविलाल सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा मुक्तिराम रिजाल सोमबार गैंडाकोट आएका छन् ।
रिजाललाई नगरप्रमुख छत्रराज पौडेल, वडाअध्यक्षहरु नवराज कँडेल, प्रेमप्रसाद सापकोटालगायतले स्वागत गर्दै प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन सुझाव दिएका छन् ।
गैंडाकोट आउनुपूर्व रिजाल लोक सेवा आयोगमा कार्यरत थिए । त्यसअघि पर्वतको फलेवास नगरपालिकामा कार्यअनुभव संगालेका थिए ।
नगरकार्यपालिकाबाट भएका निर्णयहरुको प्रचलित विधि, कानुन, पद्धतिमा रहेर प्रभावकारी कार्यान्वयनमा ध्यान दिने रिजालले बताए । `दैनिक सेवाप्रवाहमा गुनासो आउन नदिनेतर्फ सचेत रहेर काम गर्ने, संस्थागत क्षमताको विकास गर्ने, सुशासन प्रणाली स्थापित गराउनेमा जोड दिनेछु´ रिजालले भने ।





